माइक्रो र बस एकापसमा ठोक्किँदा १० जना घाइते

चैत्र २०, २०८२ |रासस
माइक्रो र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ साइटारस्थित बीपी राजमार्गमा माइक्रो र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

काठमाडौंबाट काँकडभिट्टातर्फ आउँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविन तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । 

चालक मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै दुर्घटनामा घाइते अन्य यात्रुहरूमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृती यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन् । 

उनीहरूको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ । बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएको छ ।