डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख हुने निश्चित

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख हुने निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधि सभाको सभामुख चयन हुने निश्चित भएको छ ।

शुक्रबार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएकाले उहाँ सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनु भयो । 

सभामुखको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रस्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिनुभएको हो । आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रस्ताव गर्ने र समर्थकहरू सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद् सचिवालयले जनाएको छ ।

रास्वपाको प्रतिनिधि सभामा करिब दुई तिहाइ १ सय ८२ जना सांसदहरू रहेका छन् । उपसभामुख चयनका लागि भने अन्य राजनीतिक दलहरूसँग रास्वपाका शीर्ष नेताहरू छलफलमा रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.