
तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको तीनजुरे मिल्के जलजले क्षेत्रका गुराँस प्रजाति मानवीय गतिविधिकै कारण मासिँदै गएको गुनासो बढेको छ ।
गुराँसको राजधानीमै गुराँका प्रजाति मासिँदै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । घना गुराँसे वन पातलिँदै जाँदा यस क्षेत्रको पर्यावरण र पर्यटन दुवैमा असर पर्नसक्ने भन्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ तेह्रथुमले आयोजना गरेको टीएमजे क्षेत्रको गुराँस संरक्षण योजना कार्यक्रमका सहभागीले वन क्षेत्रमा सडक निर्माण, अतिक्रमण, जंगल फँडानीजस्ता कारणले गुराँसे वन मासिँदै गएको तीनजुरे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो ।
तीन जिल्लाका ९० हजारभन्दा धेरै जनसंख्या बसोबास गर्ने टीएमजे क्षेत्रको गुराँस संरक्षण नभए यहाँको पर्यावरण मात्रै नभएर यसमा आधारित पर्यटनसमेत धरासायी हुनेमा स्थानीय चिन्तित छन् । टीएमजे क्षेत्रमा ३२ थरिका गुराँस पाइन्छन् ।