गुठी संस्थानद्वारा महाशिवरात्री पर्वको तयारी पूरा, ४० लाख खर्च लाग्ने

माघ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
गुठी संस्थानद्वारा महाशिवरात्री पर्वको तयारी पूरा, ४० लाख खर्च लाग्ने

काठमाडौं । गुठी संस्थानले महाशिवरात्री पर्वको तयारी पूरा गरेको छ ।

संस्थानले मंगलबार पत्रकार सम्मेलन गरी फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्री पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको जानकारी दिएको हो । यसवर्ष महाशिवरात्री फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि संस्थानले पर्व अगाडि र पछाडी गर्नुपर्ने कार्यहरूको तयारी पूरा गरेको गुठी संस्थानमा प्रवक्ता जनक पोखरेलले जानकारी दिनुभयो । 

उहाँकाअनुसार महाशिवारात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ । संस्थानले महाशिवरात्री पर्व अवधिभर पशुपति क्षेत्रका मठ-मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो । 

प्रवक्ता पोखरेलकाअनुसार फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार सङ्कल्प गर्नको लागि राष्ट्रपति कार्यलयमा जाने तयारी छ । 

सङ्कल्प सामग्रीमा राढी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूललगायत २१ प्रकारका सामग्री समावेश छन् । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ । फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली तथा थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रबन्ध मिलाइनेछ । 

मुख्य दिन फागुन ३ गते शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिने उहाँले जानकारी दिनुभयो । सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बालिने उहाँले बाउनुभयाे । यस दिन साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने उहाँले बताउनु भयो । 

फागुन ४ गते पनि मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ भने फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङ्काका कार्ड वितरण गरिनेछ । सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाइ गरिने उहाँले जानकारी दिनुभयो ।

गुठी संस्थानले यस वर्ष महाशिवरात्री पर्वका लागि दाउरा खरिदमा ८ लाख रूपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रूपैयाँ गरी ४० लाख रूपैयाँ छुट्याइएको उहाँले जानकारी दिनुभयो । गत वर्ष महाशिवरात्री पर्वमा २ हजार ३ सय ८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो । 

दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रूपैयाँ खर्च भएको संस्थानले जनाएको छ । साथै करिब ५० हजार केजी दाउराको प्रबन्ध गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.