.png&w=1000&height=550)
पोखरा । पोखरामा आइतबारदेखि २७ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ ।
'सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ' भन्ने नाराका साथ २७ वर्षअघि सुरु भएको सडक महोत्सवमा यस पटक स्थानीय उत्पादनसँगै विभिन्न खानाका परिकारहरू राखिएका छन् । रेष्टुरेन्ट एन्ड बार एसोशिएसन-रेवान पोखराको आयोजनामा लेकसाइडमा सुरु महोत्सवको उदघाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्रमुख कार्य भनेको फागुन २१ मा चुनाव गराउनु रहेको बताउनुभएको छ ।
उहाँले सरकारले छोटो समयमा धेरै काम गर्न नसकेको तर जनतालाई आशा दिन सक्ने गरी कार्यन्वयन र नितिगत काम गरिरहेको बताउनुभयो । मन्त्री घिसिङले चुनाव पछिको सरकार महत्वपूर्ण रहेकाले सहि प्रतिनिधि छान्न आह्वानसमेत गर्नुभयो । पुस १७ गतेसम्म चल्ने महोत्सवमा बैदमदेखि खहरेसम्मको तीन किलोमिटर सडक सिंगारिएको छ ।
पोखरा आउने पर्यटकले महोत्सव अवधिभर लेकसाइडको सडकमै खाएर रमाउन सक्नेछन् । महोत्सवमा मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रमसँगै विभिन्न प्रतियगितात्मक कार्यक्रम पनि राखिएको छ । महोत्सवलाई आन्तरिक एवं बाह्य गरी करिब पाँच लाख पर्यटकले अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।
महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीमा केन्द्रित अन्तरक्रिया पनि राखिएको छ ।