
पाल्पा । भगवान रामसँग सम्बन्धित धार्मिक स्थलहरूको महत्त्व उजागार गर्न पाल्पाको रामपुर नगरपालिकाले मंगलबार रामसीता विवाह उत्सव मनाउने तयारी गरेको छ ।
विवाहपञ्चमीको अवसरमा रामपुर नगरपालिका-३ सीताकुण्डमा रामसीता विवाह उत्सव मनाउने तयारी थालिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । रामपुर-५, रामघाटबाट बेहुला पक्ष भएर जन्ती जाने कार्यक्रम छ ।
त्यस्तै रामपुर-३ र ४ का स्थानीय र सरोकारवालाहरूले माइती पक्षको भूमिका निर्वाह गर्नेछन् । माइती पक्ष जन्तीको स्वागत, मन्दिरको सरसफाइ, खाना तथा प्रसाद व्यवस्थापनको तयारीमा जुटेका छन् । जन्तीलाई १२ स्थानमा स्वागत गर्ने कार्यक्रम छ भने पञ्चेबाजासहति रामपुर नगरभित्रका १३ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकीसहित सीताकुण्ड जन्ती जाने व्यवस्था गरिएको छ ।
रामपुर नगरपालिकाले मंसिर ९ गते नगरपालिका मातहतका कार्यालय, विद्यालय तथा संघ/संस्थामा सार्वजनिक बिदासमेत दिएको छ ।