उदयपुरको मौवासी मेलामा जुवा सञ्चालन

मंसिर ३, २०८२ |भोटराज राई
उदयपुरको मौवासी मेलामा जुवा सञ्चालन

उदययुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-५ मौवासीमा गएराति रातभर जुवा सञ्चालन गरी लाखौं रूपैयाँ हार्ने र मार्ने काम भएको छ । 

धार्मिक मेलाको नाममा आयोजकले जुवा मेला सञ्चालन गरेको हो । मेलास्थल नजिकै करिब दुईसय मिटर दुरीको खेतमा टेन्ट नै बनाएर जुवामेला जमाएको स्थानीयले बताएका छन् । उदयपुरमात्र नभइ सप्तरी, सिरहाकासमेत जुवा खेलाडिहरूको उपस्थितिमा जुवा सञ्चालन भएको र रातभर पैसा हार्ने र मार्ने चलेको सुचना स्रोतले जनाएको छ ।

मङ्सिरको बालाचतुर्दशीकाे अवसरमा वर्षदिनमा एकपटक शीतबीज छर्न मेला लाग्ने गर्दछ । शिव मन्दिर रहेको उक्त ठाउँमा शिवको आरधना गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । तर दुई दिनसम्म सञ्चालन हुने धार्मिक मेलालाई जाँडरक्सी र जुवामेला बनाइएको हो ।

मेला व्यवस्थापन समितिका अध्यक्ष हरिकेशर राईले राति मेलामा आफू नबसेको र जुवा सञ्चालन नभएको बताउनुभयाे । स्थानीयबासीले भने जुवाडेबाट दुस्मनी साँधिने भन्दै खुलेर विरोध गर्न नसकेको बताएका छन् तर, भित्रभित्रै जुवा सञ्चालन गरेर विकृति भइरहेको उनीहरूको भनाइ छ ।

एक बुद्धिजीवीले नाम उल्लेख नगर्ने सर्तमा जुवाडेको ठुलै गिरोह परिचालन भइ जुवा सञ्चालन भइरहेको बताए । यसमा प्रहरी प्रशासनसमेतको सेटिङ हुनसक्ने आशंका उनको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बिहानै मेला स्थल पुग्दा जुवाको नामनिसान केहि नभेटिएको यदि कहीँ कतै फोटो, भिडियो भए उपलब्ध गराएमा कारबाही गर्ने स्पष्ट पार्नुभयाे ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले यस बारेमा बुझेर जानकारी दिने बताउनुभयो । वडाध्यक्ष कुमार अधिकारीले मेलामा परम्परादेखि नै जुवा खेल्ने चलन रहेकोले सहजीकरण गरिदिन अनुरोध आएको तर आफूले ठाँडै अस्वीकार गरेको र हलेसी दर्शनमा आएको बताउनुभयो ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।