सचिन तिमलसेना भन्नुहुन्छ- राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु

माघ १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सचिन तिमलसेना भन्नुहुन्छ- राम पाँच वर्ष मिसनमा जानुभएको छ, भरत बनेर अयोध्या सम्हाल्छु

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सचिन तिमलसेनाले रोजगारीको अवसर सिर्जना र युवाहरूलाई उद्यमशीलतामा नजोडेसम्म युवाहरू विदेश पलायन हुनबाट नरोकिने बताउनुभएको छ ।

शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्नेमा मेहनतका साथ आफूले काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले युवा रोजगारीमा विशेष काम गर्ने बताउनु भयो । 

उहाँले यसअघि सोही क्षेत्रबाट निर्वाचित गगनकुमार थापा विशेष कारणले मिसनमा जानुभएको टिप्पणी गर्दै अबको पाँच वर्ष आफूले भरत बनेर अयोध्यारूपी निर्वाचन क्षेत्र नम्बर ४ लाई सम्हाल्ने जिकिर गर्नुभयो । उहाँले प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएर प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रूपमा आफू उभिने बताउनु भयो ।

उम्मेदवार तिमलसेनाले युवाहरूलाई उद्यमशीलतामा जोड्न आफूले काम गर्ने बताउनु भयो । पहिलो पटक व्यापार गर्ने नवयुवाहरूलाई दुई वर्षको कर माफ गर्ने किसिमको कानुन बनाउने उहाँले दाबी गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.