
जनकपुर । मिथिलामा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको सामा-चकेवा पर्व आइतबारदेखि विधिवत रूपमा सुरू भएको छ ।
आइतबारदेखि १० दिनसम्म मिथिलाकी दिदीबहिनी र छोरीबुहारीहरूले दाजुभाईको दीर्घायुको कामना गर्दै प्रत्येक गाउँटोलमा समुहमा भेला भई सामा चकेवा खेल्ने चलन छ। आइतबार बिहानै दिदीबहिनीहरूले माटो ल्याएर सामा चकेवा बनाएकी छन । कार्तिक शुल्क पञ्चमीदेखि सुरू भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाको विसर्जन गरी यो पर्वको समापन हुन्छ ।
सामा चकेवा,फसत भैया, चुगला, वृन्दावनलगायत कलात्मक माटोको मुर्ति डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, विद्यालय , धर्मशाला, मन्दिर सहितका सार्वजनिक स्थलमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाईको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको धनुषा परवाहाकी विभा देवीले जानकारी दिनुभयो ।
दिदीबहिनीहरूले ११औँ दिनमा बिहानै सामा चकेवाहरूलाई पुनः बनाउने रङ्गरोगन गर्ने दिनभरी सुकाएर बेलुका सामा चकेवालाई दही च्युरा, बतासा खुवाएर दाजुभाईलाई गमछामा कोसेली दिने, फार भराउने र घुँडामा राखेर सामा चकेवा फुटाउन लगाउने चलन रहेको छ । त्यसपछि सामा चकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीहरूले जोतिएको खेतमा लगेर विसर्जन गरेपछि पर्वको समापन हुने परम्परा रहेको शिक्षक विनोदानन्द मिश्रले बताउनु भयो ।
सामा चकेवा पर्व खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु वृद्धि हुने र उन्नति प्रगति हुनुका साथै दिदीबहिनीहरूप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास रहेको छ । मिथिलाञ्चलमा छठ पर्वको संध्याकालीन अर्घ दिनुभन्दा एकदिन पूर्व सामा चकेवा पर्वको आगमन हुन्छ ।