
थाइल्यान्ड । थाई-नेपाल मैत्री संघ र थाइल्यान्डस्थित नेपाली समुदायले महारानी श्रीकिट, द क्विन मदरको निधनप्रति गहिरो दुःख तथा हार्दिक सम्वेदना व्यक्त गरेका छन्।
संघले एक वक्तव्य जारी गर्दै थाइल्यान्डको राज्यका लागि यो ठूलो क्षति भएको बताउँदै महारानी श्रीकिटप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। वक्तव्यमा भनिएको छ, “महारानी श्रीकिट थाइल्यान्डमै मात्र प्रिय र आदरणीय व्यक्तित्व होइनन्, उहाँ कृपा, समर्पण र मातृत्वको प्रतीकका रूपमा नेपालको समेत सम्मानित र प्रेरणादायी व्यक्तित्व रहनुभएको छ।”
संघका अनुसार महारानीले आफ्नो जीवन थाई जनताको कल्याण, संस्कृतिको संरक्षण, सामाजिक सेवा र राष्ट्रिय विकासमा समर्पण गर्नुभएको थियो, जसको योगदान सधैं स्मरणीय रहनेछ। थाई-नेपाल मैत्री संघले थाइल्यान्डका राजा महाराजाधिराज, राजपरिवारका सदस्यहरू तथा सम्पूर्ण थाई जनताप्रति गहिरो सम्वेदना र हार्दिक श्रद्धाञ्जलि प्रकट गरेको छ।
वक्तव्यमा भनिएको छ, “यो गहिरो शोकको घडीमा हाम्रो हृदय महारानीप्रतिको कृतज्ञता र सम्मानले भरिएको छ।” संघले अन्त्यमा महारानी श्रीकिटको आत्माको चिरशान्तिका लागि प्रार्थना गर्दै उहाँको महान योगदान सदासर्वदा स्मरणीय रहने जनाएको छ।