काठमाडौं । लगातार पहिरो खसेपछि हिजो साँझदेखि अवरूद्ध भएको नारायणघाट-मुग्लिङ सडक खण्ड अझै खुल्न सकेको छैन ।
सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिङ-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला पुल नजिकै झरेको पहिरो हटाउने कार्य जारी रहेको बताएको छ । शनिबार अपराह्न एक सूचना जारी गर्दै डिभिजन कार्यालयले सडकमा ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाएर सडक सञ्चालन गर्न समस्या भइरहेको जनाएको हो ।
अहिले नारायणगढतर्फबाट लोडर र एक्साभेटर, मुग्लिन तर्फबाट दुई वटा लोडर र एउटा एक्साभेटर परिचालन गरेर पहिरो हटाउने कार्य सुचारू भइरहेको जनाइएको छ ।
थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तीमा साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने सम्भावना रहेको समेत सडक डिभिजन कार्यालयले जनाएको छ । हिजो साँझ करिब साढे ६ बजे देखि त्यस सडक खण्डमा पहिरो खस्न सुरू भएको थियो ।
इच्छाकामना-५ तुइन खोलामा पहिरो खसेपछि हिजो साँझदेखि बाटो पूर्णरूपमा अवरूद्ध छ । सयौं सवारीसाधन रातभर बाटोमै रोकिएका छन् । तत्काल पहिरो हटाउन सम्भावना नदेखिएकोले वैकल्पिक बाटोको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
उता पहिरोका कारण अवरूद्ध पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा एकतर्फी सवारी सञ्चालनमा आएको छ । विनयी त्रिवेणी गाउँपालिका, २ पैँसठ्ठी मोड नजिकै हिजो दिउँसो पहिरो खसेपछि अवरूद्ध भएको यातायात पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।
लगातारको वर्षाले यो सडक हिजोदेखि एकतर्फी मात्र चलिरहेको छ । पानी अझै परिरहेकाले सडकको अवस्था राम्रो नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताउनुभयो ।
यसैबीच, देशका मुख्य सडक अवरूद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुरहरूसँग यातायातमन्त्री कुलमान घिसिङले छलफल गरिरहनुभएको छ । बैठकमा सरोकारवालाहरूले सडकको अवस्थाबारे जानकारी गराएका छन् ।