सिमकोट । हुम्ला घर भइ हाल काठमाडौँमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता हुनुभएको छ ।
काठमाडौंमा भदौ २४ मा भएको जेन-जी प्रदर्शनमा सहभागि भएका हुम्लाको नाम्खा गाउँँपालिका-३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौंको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन ११ दिनदेखि बेपत्ता हुनुभएको हाे ।
गत भदौ २३ गते जेन-जी प्रदर्शनमा सहभागि भएर लामा कोठा फिर्ता भएको बुबा टसी छिरिङले बताउनुभयो । होटेलमा काम गर्दै आउनुभएको लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजे कोठामा आएर प्रदर्शनमा जानुभएको थियो ।
पछिल्लो दिनको जेन-जी प्रदर्शनमा गएको दिनदेखि लामा कोठा फिर्ता नभएको बुबा टसी छिरिङले बताउनुभयो । एघार दिनसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी कार्य गर्दा कतै नभेटिएको बताइएको छ ।
बौद्धमा भएको आन्दोलनमा सहभागि हुन कोठाबाट निस्केका छोरा त्यसपछि भने बेपत्ता भएको बुबाले बताउनुभयो । जेन-जी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन उहाँले आग्रह गर्नुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।
हुम्लाको युवा जेन-जी प्रदर्शनमा गएर बेपत्ता भएपछि नाम्ख्योम हुम्ला बौद्ध समाजका अध्यक्ष अंगबहादुर लामाले एक सूचना निकालेर खोजीका लागि आग्रह गर्नुभएको छ ।
समाजका तर्फबाट बुधबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर खोजी गर्न आग्रह गरिएको अध्यक्ष लामाले बताउनुभयो । चौबीस वर्षका लामा नारायनथान गुम्बामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भतिजोसँग बस्दै आउनुभएको उहाँका बुबाले जानकारी दिनुभयो ।-रासस