सप्तरी । सप्तरीस्थित बोर्डरबाट दुई उज्जवेकिस्तानी महिलासहित तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेट भएको एउटै मोटरसाईकलमा तीन जना सवार रहेको हेरेर प्रहरीले चेकजाँच गर्ने क्रममा भारतीय नागरिकसहित दुई जना उज्जवेकिस्तानी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पकाउ पर्नेहरूमा उज्जवेकिस्तानकी ३९ वर्षीया फेरूजा याख्शिमुरातोवा र ३९ वर्षीया शोखिस्ता अकबारोवा छन् । उनीहरूसँगै बिआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकल चालक भारत बिहार राज्य मधुबनी जिल्लाको ग्रामपञ्चायत लालमनियाँ डुमरवानाका २० वर्षीय नितिश कुमार बिन्दा पनि पक्राउ परेका हुन् ।
नेपाल-भारतको सिमावर्ती क्षेत्र सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीस्थित चन्ही-बेल्ही सडक खण्ड अन्तर्गत भित्रि सडकबाट तीनै जना भारतीय मोटरसाईकलमा भारत प्रवेश गर्ने क्रममा प्रहरीले शनिबार राती चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै विदेशी महिलासित पासपोर्ट नभएकोले गिरफ्तार गरिएको र विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । यसैबीच प्रहरीसँगको बयानमा पक्राउ परेका दुवै महिलाले आफूहरूलाई नेपाल-भारतको बोर्डर थाहा नभएकोले झुक्किएर बोर्डर क्षेत्रमा पुगेको बताएकी छन् । तर, उनीहरूलाई भारत पुर्याउने मोटरसाईकल चालक भारतीय भएकोले स्वभाविक ‘शंका’ बढेको हो ।
‘हामीले यस सम्बन्धमा दुवै महिला काठमाडौंमा बसेको होटेल र पासर्पोटसहित यता आउनुको उद्देश्यसहितको विषयवस्तु केलाएर अनुसन्धान गरिरहेका छौं’, सप्तरीका प्रहरी उपरीक्षक केसीले भन्नुभयो, ‘अनुसन्धानपछि थप जानकारी गराउनेछु ।’