रौतहटकी रूबी साह हत्याका आरोपीको मृत्यु

आत्मदाहको प्रयास गरेका आरोपीको हुँदै थियो बर्न अस्पतालमा उपचार
भाद्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
रौतहटकी रूबी साह हत्याका आरोपीको मृत्यु

राैतहट । रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुरकी रुबीकुमारी साहको हत्या आरोपका आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।

शरीरमा आगोलाएर आत्मदाहको प्रयास गरेका पासवानलाई रौतहट प्रहरीले बुधबार बिहान उद्धार गरी उपचारका लागि काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो । 

पासवानको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले जानकारी दिनुभयो ।

पसवान सुटकेसभित्र शव भेटिएकी रुबीकुमारी साहको हत्या प्रकरणका मुख्य अभियुक्त भएको प्रहरीको भनाइ छ । रुबीको हत्या गरेर फरार भएका पासवानले बुधबार पाँचौं दिन आफ्नै गाउँमा पुगेर जिउमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पासवानलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याएको थियो । 

रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको पाइएको प्रहरीले जनाएको छ। गत शनिबार रौतहटको गौर–गंगापिपरा सडक खण्डको मुडव लवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो । 

सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- ६ मधोपुर माइती भएकी रुबीकुमारी साहको रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.