काठमाडौं । अविरल वर्षापछि देशका धेरै राजमार्ग र सडकहरुमा यातायात प्रभावित भएका छन् । केही स्थानमा पहिरोले सडकहरु अवरुद्ध भएका छन् भने केही स्थानमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको छ ।
देशको राजधानी जोड्ने पृथ्वी राजमार्ग अहिले पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको थियो । राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भएको र अहिले एकतर्फी सडक सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
उता, काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध बीपी राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको छ । रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको थियो । घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरिएको थियो । जेसीबीको सहायताले राजमार्ग सञ्चालनमा ल्याइएको हो ।