शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालक पक्राउ

सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको चालककाे बयान
भाद्र ९, २०८२ |राजेश्वर पाण्डे
शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालक पक्राउ

रौतहट । जिल्लाको माधवनारायण नगरपालिका-६ माधोपुर कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी सुटकेसमा शव राखि लुकाउन प्रयोग गरिएको ई-रिक्सा चालकलाई प्रहरीले साेमबार नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका ई-रिक्सा चालक लक्ष्मण महरा रहेको छ। रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सालाई पाँच सय रूपैयाँ भाडामा लिएका थिए । 

सुटकेस लैजाँदै गर्दा मुडलवा गेटनजिक ई-रिक्सामा समस्या आए पछि फिर्ता पठाइ हत्या गर्ने व्यक्तिले सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । गौर-गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो।

गौर नगरपालिका-९ सिर्सिया नजिक गत शनिबार राति डोरीले बेरिएको सुटकेश स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले बताउनुभयाे।

सम्बन्धित समाचार :

सुटकेशमा महिलाको शव भेटियो


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।