सप्तरी । राजविराज विमानस्थलमा प्रहरीले विदेशी मुद्रासहित एक युवकलाई विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ का अन्दाजी ३३ वर्षीय मो. खुर्शिद आलम रहेका छन् ।
बुद्ध एयरकाे आइतबार १२:२५ काे फलाईटबाट राजविराजदेखि काठमाडौं जाने क्रममा विमानस्थल प्रहरीले चेकजाँचकाे क्रममा आलमसँग श्राेत नखुलेको साउदी रियाल बरामद भएको हाे ।
सप्तरी प्रहरीले दिएको जानकारीअनुसार आलम उनको साथबाट साउदी रियाल ३५ हजार ९७६ बरामद गरिएको हो । उक्त साउदी रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद रकमसहित आलमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी आन्तरिक राजस्व कार्यालय ईटहरीमा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
नेपालमा वैदेशिक रोजगारमा गएका कामदारले पठाउने रेमिट्यान्स ठूलो आम्दानीको स्रोत हो । तर, बैंक तथा कानुनी माध्यम प्रयोग नगरी हातमै विदेशी मुद्रा भित्र्याउने वा बिना अनुमति ठूलो परिमाणमा लैजाने प्रचलनले मनी लन्डरिङ र अवैध कारोबार बढ्ने जोखिम रहन्छ ।
प्रचलित कानुन बमोजिम कुनै व्यक्तिले तोकिएको सीमा भन्दा बढी विदेशी मुद्रा देशभित्र वा बाहिर लैजानुअघि नेपाल राष्ट्र बैंक वा सम्बन्धित निकायको अनुमति लिनुपर्छ । तर, अनुमति बिना ठूलो रकम बोकेमा त्यसलाई शंकास्पद गतिविधि मानिने र छानबिन प्रक्रिया अघि बढाइने प्रावधान रहेकोले साेही बमोजिम पक्राउ परेका आलममाथि सप्तरी प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।