दोलखा । दोलखाको एतिहासिक दोलखा बजारमा पाँच दिनसम्म रातभर देखाइने सबैभन्दा पुरानो भैरव कुमारी जात्रा चलिरहेको छ ।
युद्धशैलीमा बाजागाजासँगै भैरव र कुमारीसहित ३२ जना दोलखाको टोल, डबलीमा नाचेर मनाइने जात्रा हिलेजात्राको भोलीपल्टबाट पाँच दिनसम्म मनाइन्छ ।
मध्यरातमा देखाइने भैरव र कुमारी जात्रा दोलखाको सबैभन्दा पुरानो जात्रा हो । अघिअघि सेना र पछिपछि भैरव र कुमारी नाच्दै दोलखाको राजकुलेश्वर, भीमेश्वर लगायतका टोल डबली मन्दिर घुमेर पुन: कुमारी घरमा आइपुगेपछि जात्रा समापन हुने गरेको छ।
भैरवकुमारी जात्रा पौराणिक कथामा आधारित छ । आ-आफ्नो भूमिका अनुसार नाच्दै अघि बढेको रोचक दृष्य र पुरानो युद्ध कौशल हेर्न दोलखामा यतिखेर बाक्लै चहलपहल छ ।
रिसाएकी कुमारी मानवको संहार गर्छु भन्ने भावमा अघि बढ्दा भैरवले उनको बाटो छेक्दै-छेक्दै नाचेको अभिनय जात्राको मुख्य आर्कषण हो । यो जात्रामा नाच्नेहरू दोलखा बजारका शिवभक्ति खलकका मात्रै हुन्छन् ।
मनोकांक्षा पुरा हुने विश्वासमा स्थानीय महिलाहरू व्रत बसी भैरव कुमारी नाचको दर्शन गरेपछि रातमा प्रसाद ग्रहण गर्ने चलन छ ।