विराटनगरको बाल सुधारगृहमा झडप, प्रहरी र कर्मचारी घाइते

श्रावण २८, २०८२ |सुशीला पाठक
विराटनगरको बाल सुधारगृहमा झडप, प्रहरी र कर्मचारी घाइते

विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहमा झडप हुँदा प्रहरी र कर्मचारी घाइते भएका छन्।

बालबिझ्याईको विषयमा सुरू भएको विवादपछि झडप भएको हो। घटनाका अनुसार, सुधार गृहमा रहेका बालकहरूले खैनी खाएको विषयमा कर्मचारीले सोधपुछ गर्दा वादविवाद चर्किएको थियो। सोधपुछको क्रममा खैनी कसले ल्यायो र कहाँबाट भित्रियो भन्ने प्रश्नपछि बालकहरूले प्रहरी हवल्दार र कर्मचारीमाथि इट्टा-ढुंगा प्रहार गरेका थिए।

इट्टा लागेर वरिष्ठ प्रहरी हवल्दार हिरनकुमार मण्डलको टाउकोमा गहिरो चोट लागेको छ भने सुधार गृहका नायब सुब्बा गायत्रीप्रसाद ढकालमाथि हातपात गरिएको छ। घटनामा सुधार गृहका केही झ्याल फुटेका छन् र ढोकाहरूमा समेत क्षति पुगेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे।

५० जनाको क्षमता रहेको उक्त सुधार गृहमा हाल पाँच गुणा बढी, अर्थात् २४९ जना बालक रहेका छन्। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार, अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्षमुनिका बालबालिकालाई मात्र राख्नुपर्ने भए पनि यस सुधार गृहमा १२ वर्षदेखि ३२ वर्षसम्मका व्यक्तिहरू रहेका छन्।

यस्तो घटना यसअघि पनि सुधार गृहमा दोहोरिएको उहाँले बताउनुभयाे।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।