बाजुरा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

श्रावण ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाजुरा दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा बिहीबार बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत गाउँपालिकाको तिथीचौरबाट उद्धार गरिएको छ ।

सोही गाउँपालिका-५ क्युडीबाट वडा कार्यालय कवाडीमा आउने क्रममा कच्ची सडक र क्षमता भन्दा बढी यात्रु बोकेर आएको बा प ०३-००१ ज ०३३८ नम्बर को जीप अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको हो । जीप दुर्घटनामा परी घाइते भएका जीप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका-५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वषीय बाँचधन रोकाया, ४५ वर्षीय बीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले जानकारी दिनुभयाे ।

उहाँले दिएको जानकारी अनुसार एकै पटक सबै घाइतेलाई लिन सम्भव नभएकाले पटक-पटक गरेर उनीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । यस्तै जीप दुर्घटनामा ७० वर्षीय अम्म रोकाया, ४५ वर्षीय भैजित बुढा, १४ वर्षीय दशरथ बुढा, १२ वर्षीय अप्कली बुढा, ५० वर्षीय रनसुर सुनार,५० वर्षीय राजबहादुर बुढथापा र हुम्ला जिल्ला ताजाकोट गाउँपालिका-३ बस्ने २६ वर्षीय सुरेन्द्र शाही पनि सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रावलले बताउनुभयाे ।

दुर्घटनामा परी हिमाली गाउँपालिका-५ बस्ने ३५ वर्षीय दलबहादुर चदारा, ८ वर्षीय साजन रोकाया र ५० वर्षीय छते रोकायाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देब बहादुर चौधरीले बताउनुभयाे ।

दुर्घटनामा परी घटनास्थलमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको मृत्यु भएको छ भने उद्धारका क्रममा ३५ वर्षीय जुनेली रोकायाको मृत्यु भएको प्रहरी निरिक्षक चौधरीको भनाइ छ ।

दुर्घटनापछि हिमाली गाउँपालिकाले घाइतेको उद्धारका लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरेको थियो ।

याे पनि :

जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.