दाङ । दाङको भालुवाङदेखि प्यूठानको बाग्दुला हुँदै बागलुङको भीमगिठेसम्म सडक निर्माणको अलमलले प्यूठानको बाग्दुलादेखि मच्छीका स्थानीयले दशकौंदेखि सास्ती भोग्दै आएका छन् ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक स्तरोन्नतीमा बल्ल तीनै तहका सरकारले बजेट हाले पनि स्पष्ट योजना नहुँदा निर्माणमा चुनौती देखिएको छ ।
दाङको भालुवाङदेखि प्यूठानको बाग्दुला हुँदै बागलुङको भीमगिठेसम्म विस्तार गर्ने योजनासहित बाग्दुला, भीमगिठे सडक योजनाका नाममा ७३ किलोमिटर सडकको १० वर्षअघि ठेक्का लागेको थियो । तर भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बन्ने भनिएको सडक निर्माण कम्पनी कालोसूचीमा परेपछि सुरू नहुँदै अलपत्र पर्यो ।
सडक हिलाम्मे, धुलाम्मे हुँदा स्थानीयले दशकौंदेखि सास्ती व्यहोर्दैआएका छन् । नागरिकले भोगेको सास्तीमा पछिल्लो समय तीन तहका सरकारको नजर एकैपटक परेको छ । तर पूर्वयोजना र समन्वय बिनै उक्त सडकमा बजेट परेको छ ।
यो सडक खण्ड प्यूठान नगरपालिका र झिमरूक गाउँपालिकाभित्र पर्छ । आर्थिक वर्ष २०८१/०८२ मा सडक स्तरोन्नतीका लागि भिमरूक गाउापालिकाले ५ करोड रूपैयाँ बजेट विनियोजन गरेर आफ्नो क्षेत्रमा काम सुरू गर्यो ।
प्यूठान नगरपालिका क्षेत्रमा सडक डिभिजन कार्यालयले संघीय बजेटअन्तर्गत १ करोड लगानीमा सडक मर्मत गर्यो । संघीय सडक डिभिजन कार्यालयले ४ करोड रूपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ भने आर्थिक वर्ष २०८१/०८२ को अन्तिममा असार २९ गते प्रदेश सरकारले सडक स्तरोन्नती र अन्य संरचना निर्माण गर्न ५ करोड बराबरको बहुवर्षीय ठेक्का खुलाएको छ ।
सोही सडक कालोपत्रे गर्न गाउँपालिकाबाट संघीय समपूरक योजनाअन्र्तगत आर्थिक वर्ष २०८२/०८३ का लागि ७ करोड रूपैयाँ र प्रदेश संघीय समपूरक योजनाअन्तरगत लुम्बिनी प्रदेश सरकारले करिब ३० करोड रूपैयाँ विनियोजन गरेको छ ।
तर बाग्दुला भिमगिठे सडक र मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने यो खण्डमा दुबै कार्यालयले स्थायी संरचना निर्माण नगर्न भन्दै आएका छन् । एकातर्फ सडक आयोजनाले आफ्नो दाबी गर्ने र अर्काेतर्फ सडक अलपत्र पर्दा अब विनियोजन भएको बजेट कसरी कार्यान्वयन गर्ने भन्ने अन्यौल उत्पन्न भएको छ ।
दैनिक ४ दर्जनभन्दा बढी यात्रुवाहक सवारीसागै अन्य मालवाहक र नीजि सवारी गुड्ने यो सडकको स्तरोन्नतीमा ठूलो बजेट विनियोजन भए पनि समन्वय अभावमा अलपत्र परिरहने हो कि भन्ने चिन्ता बढाएको छ ।