मन्थली बजार क्षेत्रमा फुटपाथ निर्माणमा ढिलासुस्ती

असार १६, २०८२ |नवराज श्रेष्ठ
मन्थली बजार क्षेत्रमा फुटपाथ निर्माणमा ढिलासुस्ती

रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्रमा निर्माणाधीन फुटपाथको काम ढिलासुस्ती हुँदै गएको छ । असार २० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको योजनामा असार १६ गतेसम्म पनि केही मिटर मात्र ब्लक बिछ्याइएको छ, जसले स्थानीयवासीको असन्तोष बढाएको छ ।

९५ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको यस योजनाको ठेक्का जागृति निर्माण सेवा, रस्नालु रामेछापले ६१ लाख ४३ हजार रुपैयाँमा लिएको हो । तर तोकिएको म्याद नजिकिँदै जाँदा समेत अपेक्षित प्रगति नदेखिएको स्थानीयले बताएका छन् ।

स्थानीय जय मानन्धरका अनुसार फुटपाथको अभावमा विद्यार्थी र पैदल यात्रीहरू जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य छन् । फुटपाथ निर्माणमा स्थानीय घरधनीहरूको एकरूपता नहुनु र मोटरसाइकल पार्किङ व्यवस्थापन नहुनु समस्या बन्न पुगेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय खुर्कोटका अनुसार योजना अनुसार दुई मिटर चौडाइको आकर्षक ब्लकयुक्त फुटपाथ निर्माण गरिनेछ । तर, बजार क्षेत्रका केही घरधनीहरुले मापदण्ड अनुसारको निर्माण कार्यमा असहमति जनाएकाले काम अघि बढाउन कठिनाइ भइरहेको जनाइएको छ ।

मन्थली बजारमा फुटपाथ नहुँदा पैदल यात्रुहरू सडकमै हिँड्न बाध्य छन्, जसले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ । बजार क्षेत्रको सौन्दर्यता र सार्वजनिक सुरक्षाका लागि स्थानीयले लामो समयदेखि व्यवस्थित फुटपाथ निर्माणको माग गर्दै आएका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।