सिरहा । सिरहामा सवारी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । हुलाकी राजमार्गअन्तर्गत सिरहा नगरपालिका-१८ स्थित साइकल र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको हो ।
प्रहरीकाअनुसार, शुक्रबार अपरान्ह पश्चिम दिशातर्फ गइरहेको प्र २-०१-००३ प ३२२० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
त्यसक्रममा मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-१२ का २९ वर्षीय नरेश मुखिया र पछाडी सवार सुखिपुर नगरपालिका-८ घर भई कल्याणपुर-२ बस्दै आएका प्रदीप मुखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, साइकलमा सवार सिरहा नगरपालिका-१८ का ६५ वर्षीय कुशेश्वर रायको उपचारका क्रममा सिरहास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएकाे छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको पासवानले बताउनुभयाे ।