सप्तरी। झण्डै चार दशकको पर्खाइपछि राजविराज नगरबासीले विधिवत् रूपमा बसपार्क पाएका छन । निर्माण कम्पनीले गत वैशाख २३ गते निर्माण सम्पन्न गरी राजविराज नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको थियो ।
पालिकाले गणतन्त्र दिवसको अवसर पारेर काबा नगर प्रमुख इसरत परवीनले एक समारोहबीच उक्त बसपार्कको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख परवीनले शिलालेख अनावरण गर्दै बसपार्क उद्घाटन गर्नुभएको हो ।
१६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रूपैयाँको लागतमा संघ सरकार मातहतको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजमार्फत् सिनर्जी बिल्डर्स कुलेश्वरले वडा नम्बर २ स्थित राजदेवी चौकमा उक्त बसपार्क निर्माण गरेका हुन् ।
गत १९ पुस, ०७४ मा सम्झौता भएको राजविराज बसपार्कको निर्माण काम १८ पुस, ०७७ मै सक्नुपर्नेमा पटक-पटक गरी ६ पटक म्याद थपाउँदै गत वैशाखमा मात्रै ठेकेदार कम्पनीले निर्माण पूरा गरेको हो ।
२०४४ सालमै पहिलोपटक राजविराजमा बसपार्क निर्माणका लागि तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले शिलान्यास गर्नुभएको थियो । त्यसपछि ०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभयो । तर, यतिका पटक शिलान्यास हुँदा पनि बसपार्क निर्माण सुरू हुन सकेको थिएन ।
चौथो पटक ०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवले संयुक्त रूपमा गर्नुभएको शिलान्यास पछि मात्र बसपार्क निर्माण सुरू भएको थियो ।
यसअघि राजविराजमा बसपार्क नहुँदा नगरक्षेत्रमा सवारीसाधनको चापले बजारको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गरेको थियो । व्यवस्थित रूपमा पालिकाले बसपार्क सञ्चालन गर्यो भने मात्रै यातायात व्यवस्थापनमा सहज हुनेछ । यसतर्फ नगरपालिका अगाडि बढ्नु जरूरी रहेको नगरबासीको भनाइ छ ।
बसपार्कभित्र टिकट काउन्टरसहित बैंक ब्लक, रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरसमेत सञ्चालन गर्न भवन-कोठा व्यवस्थापन गरिएको छ ।
१६ करोड खर्चिंदा पनि निर्माणमा लापरबाही
राजविराज बसपार्क निर्माणमा संघ सरकारको १६ करोड ३८ करोड बढी खर्च हुँदा पनि निर्माणमा लापरबाही देखिएको छ । निर्माण कम्पनी सिनर्जी बिल्डर्स कुलेश्वरले बसपार्कभित्र ढलान गरिएको क्षेत्र समथर नबनाउँदा वर्षाको पानी ठाउँ-ठाउँमा जम्ने भएको छ ।
दुई दिनअघि भएको सामान्य वर्षामा बसपार्क भित्र सवारीसाधन पार्किङ गर्ने र यात्रु बस्ने क्षेत्रमा पानी जमेको थियो । जबकी वर्षाको पानी बगाउन बसपार्कभित्र नाला निर्माण भएको छ । तर, ढलान र सडक समथर नहुँदा जमेको पानी नालामा पुग्ने अवस्था थिएन् ।
निर्माण कम्पनीको लापरबाही र काम गराउने सरकारी निकाय सघन सहरीको अनदेखाले बसपार्कमा पानी जम्ने अवस्था आउँदा अविलम्व सच्याउन जरूरी भएको स्थानीय वडाअध्यक्ष अरूण यादवले बताउनुभयो ।
सघन सहरी आयोजना राजविराजका प्रमुख सुरेन्द्रकुमार साहले वर्षाको पानी व्यवस्थापनकालागि नाला निर्माण गरिएको अवस्थामा पनि पानी जम्ने विषय आफ्नो नोटिसमा नआएको बताउनुभयो । तर, पानी जम्ने समस्या छ भने ठेकेदार कम्पनीले मर्मत सम्भार गर्ने उहाँको भनाई छ ।