गाेरखा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने नियमावली जारी गरेपछि गण्डकीका यातायात व्यवसायी विरोधमा उत्रिएका छन् । प्रदेश सरकारले वार्ता समिति गठन गरी वार्तामा आउन गरेको अनुरोधलाई लत्याएर व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीले यातायात ठप्प पारेका कारण सर्वसाधारण यात्रुलाई सकस भएको छ । आन्दोलनका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्र ठप्प छ ।
संघीय कानुनको बर्खलाप सार्वजनिक यातायात सेवाको योगदानलाई बिर्सिएर सरकारबाट निजी नम्बर प्लेटलाई पनि सार्वजनिक यातायात सरह मान्यता दिइने काम निन्दनीय भएको आन्दोलन संघर्ष समितिको भनाइ छ ।
गण्डकी प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि व्यवसायीले विरोधस्वरूप सार्वजनिक सवारीका साधन ठप्प पारेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइड सेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन ।
उनीहरू गण्डकी प्रदेशमा चल्ने १६ हजार सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले जेठ १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
गण्डकी प्रदेश सरकारले गत महिना राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमाली मन्त्रिपरिषद्बाट पारित गर्दै राजपत्रमा प्रकाशित गरेको थियो । व्यवसायीले त्यसको विरोध गरेपछि सरकारले वार्ता समिति बनाएको छ । समितिले व्यवसायीले वार्तामा आउन आह्वानसमेत गरेको छ ।