कपिलवस्तु । नेपालमा 'छोटो पुच्छ्रे समुद्री' नामको नयाँ फिरन्ते चरा फेला परेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित कोशी ब्यारेज रहेको पिन टावरबाट कोशी बाँध जलासयमा पौडी खेलिरहेको अवस्थामा उक्त चरा चराविद अनिस तिम्सिनाले देखेर तस्बिर र भिडियो खिच्नु भएको थियो ।
तिम्सिनाले ३० मिटर नजिकैबाट आधा घण्टासम्म चरा अवलोकन गरेको जनाउनु भयो । यो फिरन्ते चराका रुपमा यहाँ देखिएको हो । वर्षभरि एकै स्थानमा नबस्ने, कहिले कता, कहिले कता डुलिरहने चरालाई फिरन्ते चरा भनिन्छ ।
यो नेपालका लागि नयाँ प्रजाति मात्र नभएर समुद्रमा पाइने चराको परिवारकै पहिलो रेकर्ड भएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनु भयो । यसले प्रशान्त महासगार आसपास पाइने चरा नेपालमा पनि पाइने सन्देश दिएको उहाँको भनाइ छ ।
तिमल्सिनाले भन्नुभयो, 'उक्त चरा गत वैशाख २० गते बिहान ९ बजेर ६ मिनेटमा देखेको थिएँ ।' नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई नयाँ चराबारेमा पुष्टि गर्न भौगोलिक अवस्थासहित वैशाख २२ गते विस्तृत विवरणसहित जानकारी पठाएको तिमल्सिनाले जनाउनु भयो ।
समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग छलफल र राय सुझाव लिएर नेपालका लागि नयाँ चरा भएको निष्कर्षमा पुगेको समिति अध्यक्ष डा. तुलसी सुवेदीले बताउनु भयो ।
समितिले अंग्रेजीमा 'Short-tailed Shearwater' नाम रहेको चराको नेपाली नाम 'छोटो पुच्छ्रे समुद्री' चरा दिइएको छ । नेपाल बर्ड रेकर्ड कमिटिले नै चराको नेपाली नाम राखेको हो ।
चराको रुप, रङ र बनावट हेरेर नामाकरण गरिन्छ । अब नेपालमा पाइने चराको संख्या थपिएर ९ सय पुगेकोछ । मुलुका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको चराविद् तिम्सिनाले बताउनु भयो ।
यो चरा अष्ट्रेलिया, क्यानडा, कोस्टारिका, फिजी, जापान, भारत, न्युजील्यान्ड, रुस, श्रीलंका र दक्षिण कोरियामा आवासीय रुपमा पाइन्छ । त्यहीँ प्रजनन् पनि गर्छ । चराविद् तिम्सिनाले व्यक्तिगत ३ वटा र समूहमा ५ वटा चरा नेपालका लागि नयाँ अभिलेख गरेको बताए ।