चितवन । लगातार दुई दिनदेखि आइरहेको हावाहुरीले चितवनको कालिका नगरपालिकामा लाखौंको क्षति पुर्याएको छ । तिव्र हावाहुरीले कालिका-३ बनकट्टास्थित श्री आधारभुत बिद्यालयको २ कोठे भवनको टिनको छानो उडाउँदा ६ थान कम्प्युटर, प्रिन्टर थान-१, खेलकुद सामाग्री, शैक्षिक सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
कालिका-२ कमलपुर टोल स्थित गिता शाहको पक्की घरमाथिको टस उडाएको छ भने नारायण रेग्मी र रामबहादुर भण्डारीको घरको २ कोठको टिनको छानो उडाउदा टिभी, फ्रिज, पंखा, खाध्यान्नलगायतमा क्षति पुगेको छ ।
त्यस्तै जनविकास टोलमा ब्लकले बनेको घरमा रूख ढल्दा २ कोठामा क्षति भएको छ । कालिका-२ अमृतटोल बस्ने सुन कुमारी तामाङको इट्टाले बनेको १ तले कच्ची घरको २० वटा जस्ता, काठ र लत्ता कपडासमेत उडाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
यसैगरी अत्याधिक हावाहुरीको कारण भरतपुर-१ देवघाटस्थित बसपार्कमा पार्किङ गरी राखिएको ना ४ ख ६३७३ नम्बरको बस माथि पिपलको रूख ढल्दा बस पुर्ण रूपमा क्षति भएको छ । सोही स्थानमा राखिएको बा.प्र.०३-००१ ह २०८२ नम्बरको अटो र ना ५३ प ६९३६ नम्बरको मो.सा.मा समेत रूखको हागाले लाग्न गई क्षति भएको प्रहरीले जनाएको छ ।