काभ्रेको रोशीमा यात्रुबाहक बस र हाईस ठोक्किँदा ११ जना घाइते

बस चालक प्रहरी नियन्त्रणमा
चैत्र २८, २०८१ |पुजन धिताल
काभ्रेको रोशीमा यात्रुबाहक बस र हाईस ठोक्किँदा ११ जना घाइते

काभ्रे । जिल्लाको रोशी गाउँपालिका-९ दाउनेमा यात्रुबाहक बस र हाईस ठोक्किँदा ११ जना घाइते भएका छन्।

आज बिहान काठमाडौंबाट रामेछापतर्फ गइरहेको यात्रुबाहक बसकाे पानी परिरहेको कारण ब्रेक फेल भएपछि विपरित दिशाबाट आइरहेको हाईससँग ठोक्किएको हो। ठोक्किएपछि बस अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र, मंगलटार पठाइएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक पुस्कर श्रेष्ठको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। हाल दुर्घटनामा संलग्न बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।