काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चीनले आफ्नो प्रतिशोधात्मक कदम फिर्ता नलिए अमेरिका आयात हुने चिनियाँ सामानहरूमा थप ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।
सोमबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनले लगाएको जवाफी कर फिर्ता नलिए अमेरिकाले अतिरिक्त ५० प्रतिशत कर लगाउने बताउनुभएको हो । यदि ट्रम्पले थप ५० प्रतिशत कर लगाए चीनबाट निश्चित सामान आयात गर्ने अमेरिकी कम्पनीहरूले कुल एक सय ४ प्रतिशतसम्म भन्सार बुझाउनुपर्ने हुन्छ ।
गत बुधबार ट्रम्पले चीनबाट आयात हुने सामानमा ३४ प्रतिशत करको घोषणा गरेपछि चीनले पनि ३४ प्रतिशत जवाफी कर लगाएको थियो । चीनले भने आफूमाथि दबाब वा धम्की दिनु उचित संवादको तरिका नभएको जवाफ फर्काएको छ । अमेरिकाले प्रायः सबै व्यापारिक साझेदार देशहरूमाथि न्यूनतम १० प्रतिशत कर लगाइसकेको छ ।
भन्सार शूल्कको अनिश्चितताका कारण विश्व सेयर बजार निकै अस्थिर बनेको छ । विश्वभरका बजार ओरालो लागेका छन् । ट्रम्पले आफूले कर लगाएका मुलुकसँग वार्ता र निर्णय फिर्ता लिने कुनै योजना नरहेको बताएको बीबीसीले जनाएको छ ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीच आणविक सम्झौताबारे प्रत्यक्ष वार्ता हुने घोषणा गर्नुभएको छ । उक्त वार्तामा सम्झौता हुन नसके इरानका लागि अत्यन्त खराब दिन हुने ट्रम्पको चेतावनी छ । इरानले प्रत्यक्ष वार्ता नगर्ने भनेपछि गत हप्ता ट्रम्पले इरानमाथि बमबारी गर्ने धम्की दिनुभएको थियो ।