बेथानचोकको गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो अझै अनियन्त्रित

चैत्र ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेथानचोकको गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो अझै अनियन्त्रित

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका-३, बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो पाँच दिन हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन।

आईतबार रातिदेखि सुरू भएको आगलागी सोमबार चिसापानी सामुदायिक वनसम्म फैलिएको छ भने बेथानचोक-३ र ५ को सीमामा पर्ने पर्यटकीय क्षेत्र गजराम पर्वतसमेत डढेलोको जोखिममा परेको छ।

रातिको समयमा आगलागी सुरु भएकाले तत्काल नियन्त्रण गर्न कठिन भएको बताइएको थियो ।

तर पछिल्लो चार दिन निरन्तर डढेलो निभाउने प्रयास भए पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। स्थानीय पर्यटन व्यवसायी कमल नेपालसहितका व्यक्तिहरूले पर्यटन विभागद्वारा निर्मित काठको घर जोगाउन आवश्यक फायर लाइन बनाउँदै अग्नि रेखा कोरेका छन् ।

बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुबेर ढकालका अनुसार आगलागी भएको क्षेत्र मानव बस्तीबाट टाढा रहेकाले हालसम्म बस्तीमा जोखिम भने देखिएको छैन। तर, आगो थप फैलिने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

डढेलो नियन्त्रणका लागि स्थानीयबासी, सुरक्षाकर्मी तथा सम्वन्धित निकायको सहकार्य आवश्यक रहेको भन्दै स्थानीयले तत्काल प्रभावकारी उपाय अपनाउन आग्रह गरेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.