भोटेकोशी बाढीमा बाँकेका २५ जना अझै बेपत्ता, परिवारमा छटपटी

भाद्र १६, २०८३ |रेजिना मल्ल
भोटेकोशी बाढीमा बाँकेका २५ जना अझै बेपत्ता, परिवारमा छटपटी

नेपालगञ्ज । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बाँकेका २५ जना बेपत्ता भएका छन्। 

हालसम्म बाढीमा परी मृत्यु भएका तीन जनाको शव फेला परेको छ। बाढीमा बेपत्ता भएकाहरूको अवस्था लामो समयसम्म अज्ञात रहँदा परिवारजन गहिरो पीडा र अन्योलमा छन्। बेपत्ताको खोजी कार्य तीव्र बनाउन आफन्तले सरकारसँग आग्रह गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२० की कर्णसरी रोकायाका १९ वर्षीय छोरा दीपक काठमाडौँबाट भदौ ७ गते रसुवा पुग्नुभएको थियाे । ठूलो बुवा ठूली आमालाई भेट्ने र गोसाइँकुण्ड घुम्ने योजनासहित रसुवा पुगेका दीपक भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको छ । 

उहाँकी दिदी विष्णुमती रोकाया र भिनाजु शेरसिंह रोकाया पनि सोही क्षेत्रमा काम गर्दै आउनुभएको थियो । तर, बाढीपछि उहाँहरू पनि सम्पर्कविहीन भएको परिवारले जनाएको छ। कोहलपुर नगरपालिका–११ लोकनगरका बावुछोरी ५४ वर्षीय आशाराम थारु र उहाँका १४ वर्षीय छोरा पृथ्वी पनि परी बेपत्ता हुनुभएको छ । 

उहाँहरू लामो समयदेखि नुवाकोटमा मजदुरी गर्दै आउनुभएको थियो । यतिका दिन भइसक्दा पनि कुनै खबर थाहा नहुँदा परिवारमा गहिरो चिन्ता छाएको छ । कोहलपुर नगरपालिका–११ की अनिता थारुका ५९ वर्षीय बुवा अमरसिंह थारु पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। 

उहाँ नुवाकोटस्थित प्रो सोलुसन कम्पनीमार्फत मजदुरी गर्दै आउनुभएको थियो। भदौ ९ गते साँझ करिब ९ बजे छोरीसँग फोनमा कुराकानी भएको थियो। त्यसक्रममा उहाँले आफू कामबाट फर्किएको र खाना खाएर सुत्ने बताउनुभएको थियो। त्यसपछि भने परिवारसँग सम्पर्क हुन सकेको छैन।

बाढीपछि आफन्तले विभिन्न माध्यमबाट बेपत्ता व्यक्तिहरूको अवस्था बुझ्ने प्रयास गरिरहेका छन्। तर, लामो समय बितिसक्दा पनि कुनै जानकारी नआएपछि परिवारको पीडा गहिरिँदै गएको छ। उनीहरूले बेपत्ताको खोजी तीव्र पार्दै अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।