दुई सय वर्ष पुरानो गाईजात्राले जोगाएको दुवाचौरको मौलिकता

भाद्र १६, २०८३ |कमला पाख्रिन
दुई सय वर्ष पुरानो गाईजात्राले जोगाएको दुवाचौरको मौलिकता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७, दुवाचौरमा ललितपुरको पाटनबाट गएका नेवारी समुदायले करिब दुई सय वर्षअघि सुरु गरेको जात्रा अझैसम्म जीवन्त राखेका छन् । 

अहिले पनि त्यहाँ उस्तै उत्साह र मौलिकतासहित जात्रा मनाइन्छ । दिवंगत आफन्तको सम्झनामा तीन दिनसम्म चल्ने जात्राको पहिलो दिन गाईजात्रा, दोस्रोदिन हिले र तेस्रोदिन लाखे जात्राले दुवाचौरको संस्कृतिलाई अहिले पनि जीवन्त बनाइराखेको छ।

दुवाचौरका गाउँमा जब गाईको प्रतीक बनेर जात्रालुहरू निस्कन्छन्, तब लाग्छ समय दुई सय वर्ष पछाडि फर्किएको छ। दिवंगत आफन्तको सम्झनाले मन भारी भए पनि दुवाचौरका चोकहरूमा गाईजात्रा सुरु भएपछि वातावरण रङ्गीन बन्छ। 

कसैको हातमा गाईको प्रतीक हुन्छ, कोही विभिन्न पात्रको भेषमा सजिन्छन् भने कोही हास्यव्यंग्यले गाउँलाई रमाइलो बनाइरहेका हुन्छन्। मृत्युको शोकलाई सांस्कृतिक उत्सवमार्फत अभिव्यक्त गर्ने पुरानो परम्परालाई पछ्याउँदै दुवाचौरमा मनाइने गाईजात्राले दुःखसँगै हाँसो बाँड्ने चलनलाई निरन्तरता दिइरहेको छ।

जात्राको अवसरमा अध्ययन, रोजगारी तथा अन्य कामले गाउँबाहिर रहेका स्थानीयसमेत घर फर्किने गर्छन् । आसपासका गाउँबाट समेत जात्रा हेर्न ठूलो संख्यामा स्थानीय आउने गरेका छन्। दुवाचौरको गाईजात्रा नेवार समुदायमा मात्र सीमित नभइ सबै जातजाति र समुदायको सामूहिक उत्सव बनेको छ ।

मृत्युको पीडामा रहेका परिवारलाई केही क्षण भए पनि हसाउने र दुःख भुलाउने गर्छ गाईजात्राले । धेरै वर्षअघिदेखि चल्दैआएको परम्परालाई यहाँका स्थानीयले पुस्तौँदेखि निरन्तरता दिँदै आएका छन् । जात्रा संरक्षणका लागि विगतमा गाउँ विकास समितिदेखि हाल स्थानीय तहसम्मले बजेट व्यवस्थापन गर्दै आएका छन्। 

स्थानीयले देउसीभैलो खेलेर रकम संकलन गर्ने र वडा कार्यालयले पनि हरेक वर्ष जात्रा सञ्चालन तथा संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ। समय फेरिएको छ, जीवनशैली फेरिएको छ । तर, दुवाचौरले भने आफ्नो मौलिक परम्परालाई समयसँगै अघि बढाउँदै लगेको छ । दिवंगत आफन्तको सम्झनामा मनाइने गाईजात्रा यहाँ दुःखलाई उत्सवमा बदल्ने माध्यम मात्र बनेको छैन, नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र पहिचानसँग जोडेर राखेको छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।