उद्धार गर्न पुगेका सुरक्षाकर्मी आफैं उपकरणविहीन

भाद्र १६, २०८३ |किरण पौडेल
उद्धार गर्न पुगेका सुरक्षाकर्मी आफैं उपकरणविहीन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अहिले खोजी तथा उद्धार तीव्र रुपमा जारी छ। 

अहिले नेपाल प्रहरी, नेपाली  सेना र सशस्त्र प्रहरी बलका गरी २० हजारभन्दा धेरै सुरक्षाकर्मी मैदानमा खटिएका छन् । तर, खोज तथा उद्धारका लागि चाहिने उपकरण नै सुरक्षाकर्मीसँग छैनन् । यहाँसम्मकि प्रहरीसँग त हिलोमा लगाउने बुटकाे अभाव छ ।

सुरक्षा निकायसँग विपद् व्यवस्थापनका लागि तालिमप्राप्त दक्ष जनशक्ति त छन् तर विपद्स्थलमा काम गर्न अत्यावश्यक उपकरण छैनन् । अहिले बाढी प्रभावित क्षेत्रमा प्रहरी खटिइरहेको छ तर बाढीमा उद्धार गर्न प्रयोग गरिने सामग्रीकै अभाव छ ।

उद्धारपूर्व प्रभावित क्षेत्रको अनुगमन गर्ने थर्मल तथा माइकिङ ड्रोन, भग्नावशेष वा जमिनमुनि आवाजका आधारमा जीवित मानिस पत्ता लगाउने ‘लाइभ डिटेक्टर’ उपकरण, उद्धारका लागि चाहिने डोरी, शव राख्ने बडी ब्याग र विकट ठाउँमा परिचालन हुने अत्याधुनिक हेलिकप्टरसम्मको कमी छ। 

यतिसम्मकि प्रहरीलाई हिलोमा लगाउने बुटकैसमेत अभाव छ । यसका साथै श्वासप्रश्वासमा सहयोग पुर्याउन लगाउनुपर्ने उपकरण नहुँदा जोखिम लिएरै सुरुङभित्र जानुपर्ने बाध्यता रहेको प्रहरी अधिकारीहरु बताउँछन् । अहिले धमाधम शव फेला परिरहँदा तिनलाई राख्ने बडी ब्यागका लागिसमेत दाता गुहार्नुपर्ने बाध्यता छ । 

नेपाल प्रहरीसँग अहिले जम्मा ७६५ वटा बडी ब्याग रहेकामा १९४ वटा प्रयोग भइसकेका छन् । नेपाल प्रहरी र सशस्त्र बलसँग त आफ्नै हेलिकोप्टरसमेत छैन । यस्तो बेला कि त नेपाली सेनाको कि निजी हेलिकोप्टर मगाउनुपर्ने बाध्यता छ । प्रहरीले २०५३ देखि हेलिकोप्टरको माग गर्दै आए पनि गृहमा पुगेर थन्किने गरेको छ । 

नेपाल प्रहरीका पूर्वआईजीपी धिरजप्रताप सिंहले कान्तिपुरसँग भन्नुभयो- विपद् व्यवस्थापनलगायतका कार्यमा प्रहरीलाई हेलिकोप्टर झनै बढी आवश्यक भइसक्यो । साधन नहुँदा जनशक्ति हुँदाहुँदै पनि खटाउन समस्या छ । अहिले नेपाल प्रहरी , नेपाली सेना र सशस्त्र प्रहरी बलबाट २० हजारभन्दा धेरै सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । 

उद्धारका लागि चार दिनपछि आएका चिनियाँ र भारतीय विशेषज्ञ थर्मल क्यामरा, ड्रिलिङ उपकरण र एयर पम्पिङलगायतका उपकरण छन् । सुरुकै दिनदेखिका महत्वपूर्ण समयमा खटिनुपर्ने नेपाली सुरक्षा निकायसँग पर्याप्त उद्धार उपकरण छैनन्, तर सुरक्षाकर्मीले गर्ने उद्धारको रफतारमा भने कमि आएको छैन ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।