
रुपन्देही । तपाईँको स्थानीय तहले घरबारविहीन सुकुम्वासीलाई कसरी संरक्षण गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकाले घरजग्गा उपलब्ध गराएर नमुना बस्ती बसालेको छ । संघीय सरकारको सहयोगमा नगरपालिकाले बस्ती बसालेको हो ।
रुपन्देहीको सैनामैना नगरपालिकाको नमुना बस्ती बरौली भाटा गाउँ, जहाँ प्रकोप तथा विभिन्न परिस्थितिले घरबारविहीन भएकाहरूको लागि बस्ती बनाइएको हो । चार बिघा क्षेत्रफलमा रहेको नमुना बस्तीमा उस्तै प्रकृतिका १० घर बनेका छन् । एक घरमा एक शौचालय र तीनवटा कोठा रहेका छन् । जहाँ पाँच वर्ष अघिदेखि १० परिवार बसिरहेको छ ।
नमुना बस्तीमा फुटसल, हरियाली पार्क, खेल मैदान छन् । यही बस्तीमा सैनामैना नगरपालिकाले हरेक वडाबाट सबैभन्दा विपन्न घरवारविहीन छनोट गरी राखेको हो ।
नमुना बस्ती पूर्वपश्चिम राजमार्गबाट करिब डेढ किलोमिटर भित्र छ । सैनामैना नगरपालिकाको नाममा रहेको यो जग्गाको विद्युत् र पानी भने सगोलमा बुझाइने गरेको छ । कञ्चन नदी उकास क्षेत्रमा बनेको नमुना बस्तीलाई सुरक्षित बनाउन तटबन्ध गरिएको छ ।
नमुना घरमा संघीय सरकारको तराई–मधेश समृद्धि कार्यक्रमको ७० प्रतिशत र सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत साझेदारी छ । जहाँ १ करोड ८६ लाख ५७ हजार बजेट लगानी भएको छ । सैनामैना नगरपालिकाले सुरुवातमा घरवारविहीन १ सय १० घरवारविहीनहरुलाई बसाल्न १ सय १० वटै घर बनाउने योजना बनाएको थियो ।
तर, १० घर बनाएपछि अन्य घर बनाउने पुरानो योजना त्यत्तिकै अलपत्र छ । विपद् लगायत अन्य कारणले घरवारविहीनहरुलाई पनि यसैगरी बसोबासको सुविधा दिन नगरपालिकाले ध्यान दिने कि ?