ब्रड पिकमै अस्ताए निर्मल पुर्जा

श्रावण १६, २०८३ |कृपाल गौतम
ब्रड पिकमै अस्ताए निर्मल पुर्जा

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाले पाकिस्तानको काराकोरम हिमश्रृंखलामा पर्ने ब्रड पिक आरोहणअघि सामाजिक सञ्जाल एक्समा लेखेका थिए - ‘ब्रड पिक, म तिमीसँग एउटै कुरा मात्र माग्छु- सुरक्षित रूपमा माथि पुग्न र सकुशल फर्किन पाऊँ।’ तर, आधुनिक पर्वतारोहणमा नयाँ इतिहास रचेका ४३ वर्षीय निर्मल पुर्जा सकुशल फर्किएनन् । 

आठ हजारभन्दा अग्ला १४ वटा हिमाल अक्सिजनबिना नै दोस्रो पटक आरोहण गर्ने पहिलो व्यक्ति बन्ने अवसर देखेपछि ब्रड पिक आरोहण गर्ने योजना बुनेका उनको बिहीबारको हिमपहिरोमा परि निधन भएको हो ।

ब्रड पिकको शिखरतिर लाग्ने क्रममा क्याम्प २ बाट निर्मल पुर्जाले एनडीटीभीका पत्रकार विष्णु सोमलाई आफ्नो अवस्थाबारे भनेका थिए- शिखर पुगेर फर्किएपछि सम्पर्कमा आउनेछु ।

तर दुर्भाग्य, पुर्जा ब्रड पिकमै बिलाए ।

नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा ‘निम्स दाइ’ का नामले परिचित निर्मल पुर्जा र हिमाल पर्यायजस्ता लाग्थे । अन्तराष्ट्रिय सञ्चारमाध्यमले सधैँ उनलाई यसैगरी नै प्रचार गरिरह्यो । सन् २०१९ मा ‘प्रोजेक्ट पोसिवल’ अभियानअन्तर्गत विश्वका सबै १४ वटा आठ हजारभन्दा अग्ला हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर उनले विश्व कीर्तिमान बनाए । 

त्यसपछि उनी अन्तराष्ट्रिय सञ्चारमा निकै छाए । त्यसभन्दा अघि दक्षिण कोरियाका किम चाङ–होले सोही उपलब्धि हासिल गर्न ७ वर्ष १० महिना ६ दिन लगाएका थिए। २०४० साउन ९ गते म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जाको बाल्यकाल चितवनमा बित्यो। 

सैनिक परम्पराको परिवारमा हुर्किएका उनले बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरेपछि बेलायती नौसेनाको विशेष बोट सेवा (एसबीएस) मा छनोट हुने पहिलो नेपाली बने। करिब १६ वर्षको सैनिक जीवनपछि उनले पर्वतारोहणलाई पूर्णकालीन पेसा बनाएका थिए ।

उनको पर्वतारोहण यात्रा सन् २०१२ मा एभरेस्ट आधार शिविरसम्मको पदयात्राबाट सुरु भएको थियो। त्यसयता उनले छोटो समयमै विश्वका कठिन हिमालहरू आरोहण गर्दै आफूलाई उत्कृष्ट हिमाली आरोहीका रूपमा स्थापित गरे।

‘प्रोजेक्ट पोसिवल’अन्तर्गत उनले अन्नपूर्ण, धौलागिरि, कञ्चनजंघा, सगरमाथा, ल्होत्से र मकालु ४८ घण्टाभित्र आरोहण गरेका थिए। त्यसपछि पाकिस्तानका नाँगा पर्वत, ग्यासरब्रुम–पहिलो, ग्यासरब्रुम–दोस्रो, ब्रड पिक र केटु तथा अन्तिम चरणमा मनास्लु, चोओयु र शिशापाङ्मा आरोहण गर्दै अभियान पूरा गरेका थिए।

उनको यो असाधारण यात्राले विश्वको ध्यान खिच्यो। नेटफ्लिक्सले निर्माण गरेको ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ वृत्तचित्रमार्फत उनको यात्रा विश्वभर पुगेको थियो। त्यसपछि उनी नेपाली पर्वतारोहणका सबैभन्दा चिनिएका अनुहारमध्ये एक बने।

पुर्जा कीर्तिमानका लागि मात्र होइन, उद्धार अभियानका लागि पनि परिचित थिए। अन्नपूर्ण र कञ्चनजंघामा उनले आफ्नै शिखर पुग्ने प्रयास रोकेर अन्य आरोहीको ज्यान बचाउन सहयोग गरेका थिए। उच्च हिमालमा जोखिममा परेका आरोहीको उद्धारमा उनी पटक–पटक अग्रपंक्तिमा देखिए।

२०७७ सालमा उनले बियोन्ड पोसिबल आत्मकथा प्रकाशित गरे। त्यही वर्ष माघमा १० सदस्यीय नेपाली टोलीसँगै केटुको पहिलो सफल शीतकालीन आरोहण गर्ने टोलीका सदस्य बने । यो उपलब्धिलाई हिमाली आरोहण इतिहासकै महत्वपूर्ण सफलतामध्ये एक मानिन्छ।

पछिल्ला वर्षहरूमा उनले एलिट एक्स्पेड स्थापना गरी अन्तर्राष्ट्रिय आरोहण अभियान सञ्चालन गरे। नेपाली पर्वतारोहीको योगदानलाई विश्वमञ्चमा स्थापित गर्न, उच्च हिमाली श्रमिकको सम्मान र सुरक्षाका लागि आवाज उठाउन तथा निम्सदाइ फाउन्डेसनमार्फत सामाजिक अभियान सञ्चालन गर्न उनी सक्रिय रहे। उनी मुस्ताङ हेलिकोप्टर्सका अध्यक्षसमेत थिए।

उनको सार्वजनिक जीवन विवादरहित भने रहेन। मानिस भएका कारण उनका पनि सीमाहरु थिए । उनीमाथि लागेका आरोहण गतिविधिसम्बन्धी अनुसन्धान र व्यक्तिगत आरोप उनले अस्वीकार गर्दै आएका थिए। पुर्जाको एक छोरी र श्रीमती छन् । पुर्जाले तीन वर्षअघि गैरआवासीय नेपाली नागरिकता लिएका थिए ।

सैनिकदेखि विश्व कीर्तिमानी पर्वतारोहीसम्मको उनको यात्रा पर्वतारोहण इतिहासकै असाधारण कथा बनेको छ। साहस र आत्मविश्वासले असम्भवलाई सम्भव बनाउने दृढ इच्छाशक्तिका कारण निर्मल पुर्जाको नाम नेपाली पर्वतारोहणको इतिहासमा सधैं स्मरणीय रहनेछ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।