
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपाका सभापति रवि लामिछानेले सरकारका मन्त्री र सांसदहरुलाई पार्टीले अघि सारेको सय बुँदे घोषणा र जनसरोकार विषयलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभएको छ ।
रास्वपाले मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा गरेको छलफलमा सभापति लामिछानेले संयमित भएर काममा अघि बढ्न निर्देशन दिनुभएको हो । सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुदेखि विपक्षी दलका सांसदहरु आजित छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा त विपक्षी सांसद विष्णुमाया विकले आफूले संसद्मा जनताको कुरा उठाउनै नसकेको गुनासो गर्नुभयो।
रास्वपा सांसद आशिका तामाङले अर्का एक सांसदको अभिव्यक्तिमा नियमापत्ति गरेपछि एमाले सांसद विष्णुमायाले रोष प्रकट गर्नुभएको हो। सभामुख डोलप्रसाद अर्यालसमेत रास्वपा सांसदहरुसँग बेलाबेला आजित भएको देखिन्छ। परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा उठेका प्रश्नको जवाफ दिएपछिको यो दृश्य हेर्दा थाहा हुन्छ।
विपक्षी दलका सांसद र सभामुखमात्र होइन, रास्वपाकै सभापति रवि लामिछाने पनि सांसदहरुको अभिव्यक्ति र शैलीबाट असन्तुष्ट हुनुहुन्छ। संसदीय भूमिकाका विषयमा सांसदहरुलाई निर्देशित गर्ने जिम्मेवारी मूलत: संसदीय दलका नेताको हो। तर, प्रधानमन्त्रीसमेत रहेका रास्वपा संसदीय दलका नेता वालेन्द्र शाहको यसतर्फ चासो देखिएको छैन।
रास्वपाको संसदीय दलका अघिल्ला बैठकमा पनि उहाँको उपस्थिति संक्षिप्तमात्रै रहेका थिए। सायद त्यसकारण पनि सभापति लामिछानेले बुधबार आफ्ना सांसदसँग छलफल गर्नुभयो। अनौचारिक भनिएको बैठकमा सभापति लामिछानेले दलका नेताकै शैलीमा सांसदहरुलाई निर्देशन गर्नुभयो।
लामिछानेले संसदीय मर्यादा कायम गर्नमात्रै निर्देशन दिनुभएन, विपक्षी दलहरुको आलोचना नगर्न पनि निर्देशन दिनुभयो। बैठकले दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा संसदीय दलको विधान संशोधनका लागि कार्यदल नै बनाएको छ।
विधान संशोधनको उद्देश्य पनि सांसदहरुलाई सदनमा मर्यादापूर्वक र तयारीका साथ प्रस्तुत हुन बाध्य बनाउने रहेको उपनेता गणेश पराजुलीको भनाइ छ । सभापतिलाई सांसदसँग छलफल गर्नैपर्ने बाध्यता त आफ्नै सरकारका मन्त्रीहरुप्रति आफ्नै सांसदहरु आक्रामक हुनुले पनि पारेको छलफलमा सहभागी सांसदहरुको भनाइले पुष्टि गर्छ।
छलफलमा सरकारमा सहभागी मन्त्री र सांसदहरुबीच प्रश्नोत्तर पनि चल्यो। जवाफमा मन्त्रीहरुले सरकारको कामका बारेमा संसद्मा आलोचना गर्नुको साटो सोझै आफूलाई भन्न आग्रह गरे। गृहमन्त्री सुधन गुरुङले त मुखै फोरेर संसद्मा सरकारको विरोध नगर्न आग्रह गर्नुभएको एक सांसदले बताए।
घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं भन्दै गुरुङले विपक्षी बलियो हुन थालेको कुरा समेत राख्नुभयो। संसदीय दलमा दलका नेता वालेन्द्र शाहको भूमिका नै नदेखिएको बेला सभापति लामिछानले आगामी बैठकमा शाहको उपस्थिति हुने बाचा समेत गर्नुभयो।