बारा । गत साउन ३१ गते आइतबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की चार वर्षीया बालिका घरबाटै हराइन् ।
घटनाको तीन दिनपछि मङ्गलबार साँझ बालिकाको शव घरभन्दा दुई सय मिटर पर सुनसान घरमा फेला पर्यो । जबरजस्ती करणीपछि बालिकाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर, पीडित परिवारले बालिकाको शव बुझ्न मानेका छैनन् ।
उनीहरूले बालिकाको न्यायका लागि भन्दै शव फेला परेदेखि नै प्रदर्शन जारी राखेका छन् । ३१ साउन बिहान साढे ८ बजे जितपुर सिमरा उपमहानगरपालिकाकी चार वर्षीया बालिका घरबाटै सम्पर्कविहीन भइन् । बालिकाकी आमाले साढे ३ घण्टासम्म खोजी गरे पनि छोरी फेला नपरेपछि सिमरा र पथलैया प्रहरीलाई घटनाबारे जानकारी गराइन् ।
मजदुरी गर्न गएका श्रीमानलाई पनि फोन गरिन् । प्रहरीले घटना सामान्य ठानेर खोज्छु भन्दै जवाफ फर्कायो । तर, भोलिपल्ट सोमबार मात्रै खोजी सुरु गर्यो । तेस्रो दिन बित्दा मंगलबार साँझतिर बालिकाको घरबाट अन्दाजी दुई सय मिटर पर रहेको मान्छेको बसोबास नरहेको जीर्ण घरबाट गन्ध आउन थालेपछि प्रहरीले त्यहाँ खानतलासी गर्दा बालिकाको शव फेला पर्यो ।
बालिकालाई जबरजस्ती करणी गरेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तीमध्ये एक जना नाबालक छन् । आरोपी १६ वर्षीय किशोर बालिकाको घरमा आउजाउ गरिरहन्थे । बालिका बेपत्ता भएपछि परिवार तिनै किशोरमाथि शङ्का गरेर प्रहरीलाई पनि जानकारी गरायो ।
बालिकाको शव फेला परेपछि तालिम प्राप्त कुकुरको संकेत मिलेपछि खोजीमा सँगै रहेका ती किशोरलाई प्रहरीले नियन्त्रणमा लियो । आरोपी किशोरले चकलेट दिएर लोभ्याउँदै बालिकालाई जबरजस्ती करणी र हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
किशोरको बयानपछि म्याजिक सवारीधनी तथा बालिकाका छिमेकी २४ वर्षीय प्रोग्रेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । ती किशोर म्याजिकका सहचालक हुन् भने प्रोगेश चालकसँगै सवारीधनी हुन् । प्रहरीले दुवै आरोपीलाई अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
घटनापछि मृतकका आफन्तले बालिकाको खोजीमा प्रहरीले ढिलाइ गरेको, बालिकाका परिवारले न्याय पाउनुपर्ने, अपराधमा संलग्नलाई कडा कारबाही हुनुपर्ने भन्दै वीरगन्ज–पथलैया सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । उनीहरूले बालिकाको शव बुझ्नसमेत अस्वीकार गरेका छन् ।
बारासँगै रौतहट र काठमाडौंमा पनि प्रदर्शन भइरहेको छ । सडक खुलाउन बिहीबार राति प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र राजनीतिक दलका स्थानीय नेताहरूबीच पीडित परिवारलाई स्थानीय तहको सहभागितामा रोजगारी र राहत दिने, सुरक्षा व्यवस्था भरपर्दो बनाउनुपर्ने, दोषीलाई कडा कारबाही गर्ने, बालिकाको खोजतलासमा लापरबाही गरेका प्रहरीलाई कारबाही गर्ने र आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरी वातावरण सहज बनाउने सहमति भयो ।
तर, यो सहमति अस्वीकार गरेका बालिकाका परिवार र आफन्तले आन्दोलन जारी राखेका छन् । उनीहरुले वार्तामा गृहमन्त्री नै आउनुपर्ने, अपराधीलाई कडा सजायको व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् । मृतक बालिकाका बाबु दैनिक ज्याला मजदुरी गर्छन् ।
सानो घरमा उनीहरूले एक छोरा र एक छोरी हुर्काइरहेका थिए । बालिका हराएको दिन पनि बिहानै बाबु मजदुरी गर्न गइसकेका थिए । प्रहरीले पीडित परिवारको जाहेरी लिएर अनुसन्धान गरिहेको छ । बालिकाका आफन्तले प्रहरीले बालिका हराएको दिन खोजीका लागि वास्ता नगरेकोमा प्रश्न उठाएको छ ।
प्रहरी प्रधान कार्यालयले सिमराका डीएसपी दिलिप क्षेत्री र इन्स्पेक्टर प्रकाश थापालाई हेडक्वार्टर तानेको छ ।