धनकुटाका उपभोक्ता धमिलो पानी खान बाध्य, शुद्धीकरण प्रणाली कमजोर

दैनिक आवश्यकताको एकतिहाइभन्दा पनि कम आपूर्ति
श्रावण १५, २०८३ |विनोद घिमिरे
धनकुटाका उपभोक्ता धमिलो पानी खान बाध्य, शुद्धीकरण प्रणाली कमजोर

धनकुटा । धनकुटा बजारका उपभोक्ताले लामो समयदेखि खानेपानीको उपलब्धता र गुणस्तरमा प्रश्न उठाइरहेका छन् । 

बारम्बारको उपभोक्ताको यस्तो गुनासोपछि धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले यहाँका बहुसरोकारवाला निकायलाई पानी मुहान, पाइपलाइन, शुद्धीकरण, रिजर्भेसनदेखि वितरण प्रणालीसम्मको स्थलगत अनुगमन गराएको छ ।

धनकुटा बजारमा हिउँद बर्खै खानेपानी आपूर्तिमा समस्या हुने गरेको छ । धनकुटा बजारका उपभोक्ताले ८ यूनिट अर्थात् ८ हजार लिटरका पानीका लागि न्यूनतम ३ सय रुपैयाँ तिर्छन् । बर्खाको अधिकांश समय धाराबाट लेदो मिसिएको धमिलो पानी आउँछ । 

हिउँदमा स्रोत सुक्ने समस्याका कारण माग अनुसारको आपूर्ति नै हुँदैन् । खोला र जरुवा मुहानबाट सोझै ल्याइएको पानी पुराना र कम क्षमताका फिल्ट्रेसन प्रणालीले काम नगर्दा शुद्धीकरणमा समस्या हुनेगरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउनु हुन्छ ।

धनकुटा बजारमा खानेपानी आपूर्तिका लागि लुङदाङ, मुढे, छरछरे, तीनदोभाने, आइतबारे लगायतका मुहान प्रयोग गरिएको छ । निवुवा र तांखुवाखोलाबाट लिफ्टीङ्ग प्रविधिमार्फत तानिएको पानी स्कुलडाँडा, लहरेबर, कागते, स्कुलडाँडा र चुलीवनमा रहेका मुख्य ट्याङ्कीबाट वितरण हुँदै आएको छ । 

सफा र पर्याप्त पानी आपूर्तिका लागि लहरेबरमा धमिलो पानी थिगार्ने र छान्ने पूर्वाधार थप्दै गएको धनकुटा नगरपालिकाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।

धनकुटा बजारका ३ हजार ८ सय ९५ घरधुरीका लागि दैनिक ४६ लाख लाख ५६ हजार लिटर पानी आवश्यक पर्छ । तर, अहिले आपूर्ति भने १६ लाख लिटर मात्रै छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।