
रुकुम पश्चिम । गाउँको मौलिक उत्पादन खान चाहनेहरु धेरै छन् ।
सहरका ठुल्ठुला होटेल तथा रेष्टुरेन्टको मेनुमा यसप्रकारका खान्कीको सुची लामो छ । तर, यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन भने व्यवसायीलाई सजिलो छैन ।
देशकै मध्यभागमा अवस्थित चितवनमा अर्गानिक खानाको माग बढ्दो छ । ‘थकाली’ नामबाट थुप्रै रेष्टुरेन्ट खुलेका छन् । तर, धेरैले प्रचार अनुसारको परिकार खुवाउन भने सकिरहेका छैनन् । मुस्ताङको सिमी, टिमुर, जिम्बुलगायतका खान्की जुटाउन यहाँका व्यवसायीलाई सकस छ ।
नारायणगढमा युवा व्यवसायीहरूले मुस्ताङबाटै कच्चा पदार्थ बटुलेर यहाँ ल्याई ‘लिम्बा थकाली’ खोलेका छन् । तर, उनीहरूलाई अर्गानिक कच्चा पदार्थ पाउन सजिलो छैन । पर्यटकीय राजधानी पोखरामा पनि अर्गानिक खान्कीको माग कम छैन । यहाँ विभिन्न देशी–विदेशी खाना र परिकारहरू पाउने भए पनि धेरै ग्राहक आधुनिक ठाउँमा बसेर मौलिक खानाको स्वाद लिइरहेका देखिन्छन् ।
पर्यटकको अत्यधिक चहलपहल हुने लेकसाइटमा रहेका अधिकांश होटेल तथा रेष्टुरेन्टका मेनुमा रैथाने बालीबाट बनाइने विभिन्न परिकारको लामै सूची हुन्छ । तर, यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ जुटाउन भने यहाँका व्यवसायीलाई पनि सजिलो छैन ।
रैथाने धान र मकै, कोदो, फापर, जौ जस्ता खाद्यन्न बाली तथा सिमी, टिमुरलगायतका अरु विभिन्न रैथाने बालीनालीको उत्पादन बर्षेनि घट्दै गइरहँदा सहरमा भने यस्ता उत्पादनको माग बढ्दो छ । गाउँघरमा रैथाने बाली उत्पादन घट्नुमा मूल बीउ उत्पादन तथा संरक्षण गर्न नसक्नु त मुख्य कारण छँ नै व्यावसायिक उत्पादन प्रवर्द्धनमा पनि स्थानीय सरकारहरूले पर्याप्त काम गर्न नसकेको सत्य हो ।
रैथाने बालीको उत्पादन घटेको यथार्थाका बीच धनकुटाको अमलेटारस्थित औद्योगिक ग्राममा सञ्चालित ‘आनीको खाद्य उद्योग’ ले कोदो, फापर, मकै, स्थानीय दाल–गेडागुडी तथा अन्य परम्परागत खाद्यान्न प्रशोधन, प्याकेजिङ र बजारीकरण गरेर आफ्नो मौलिक ब्रान्ड कोशी प्रदेशका विभिन्न जिल्लामा पुर्याइरहेको छ ।
मौलिक स्वादले भरिपूर्ण हाम्रा रैथाने बालीहरू केवल खाद्य उत्पादनको सूचकमात्रै हैनन् । यिनीहरू औषधीय गुणले भरिपूर्ण, हाम्रो जनजीवनका अमूल्य निधि हुन् । यी बालीको माग आधुनिक बजारमा बढ्नु राम्रो हो ।
यसलाई ध्यान दिँदै हाम्रा रैथाने बालीहरूको संरक्षण गरेर व्यावसायिक उत्पादनमा बढ्वा दिन सकेमा खाद्यान्नमा आयात घट्ने, स्वदेशमै रोजगारी सिर्जना हुने एवं मौलिक नेपाली भान्साले देश विदेशमा विशिष्ट परिचय समेत बनाउने छ ।
चितवन, पोखरा, धनकुटा र जनकपुर सहकर्मीहरुको सहयोगमा महेश केसीकाे रिपार्ट ।