
कपिलवस्तु । यतिबेला दाङ र कपिलवस्तुको पूर्वपश्चिम महेन्द्र राजमार्ग आसपासका जंगल क्षेत्रमा विश्वकै दुर्लभ डंगर गिद्धका माउ बचेराको मनमोहक चहलपहल देखिन्छ।
दाङको उचानिम्बु सामुदायिक वनमा गिद्धका माउले बचेरालाई उड्न सिकाइरहेका छन्। कपिलवस्तुको राजपानी क्षेत्रमा पनि माउ बचेराको व्यस्तता पनि उस्तै छ। डंगर गिद्धले यस वर्ष पछिल्लो चार वर्षयताकै सबैभन्दा धेरै प्रजनन् सफल भएर बचेरा उडाएका छन् ।
सन् २०२५/२६ मा डंगर गिद्धका विभिन्न जिल्लामा ७ सय ९४ वटा गुँड फेला परेकोमा ६ सय ५६ वटाले बच्चा उडाउन सफल भए । पन्छी संरक्षण संघ- बीसीएनले गरेको अध्ययनमा अघिल्लो वर्ष ७ सय ४८ वटा गुँड भेटिएकोमा ५ सय ५१ वटाले बच्चा उडाएका थिए ।
सन् २०२३/२४ मा ६ सय ५८ जोडीले बच्चा कोरले पनि ४ सय ८० र २०२२/२३ मा ५ सय ६९ जोडीले गुँड बनाएकोमा ४ सय २ जोडी बचेरा उडाउन सफल भएका थिए । सन् १९९० को दशकमा नेपाल र भारतबाट लोप भइसकेको डंगर गिद्ध लगातारको संरक्षण प्रयासपछि अहिले निक्कै बढेका छन् ।
बीसीएनले गरेको अध्ययनमा यस वर्ष डंगर गिद्धले सबैभन्दा बढी कपिलवस्तुमा एक सय ८७ गुँड लगाएकोमा एक सय ६६ जोडीले बचेरा उडाएका छन् । त्यस्तै दाङमा एक सय ७० वटाले गुँड लगाएकोमा एक सय ४७ र पूर्वीनवलपरासीमा एक सय ३१ गुँड लगाएकोमा ९६ र कञ्चनपुरमा एक सय १६ मध्ये ९७ जोडीले बचेरा उडाए ।
नेपालका १३ जिल्लामा डंगर गिद्ध अभिलेख भएकोमा पश्चिम तराईको वन क्षेत्र यसको प्रजनन्का लागि उपयुक्त देखिएको छ । सुरक्षाका लागि साल, असना, साज, कुसुम, सिमलजस्ता अग्ला रूखको १९ देखि २९ माथि गुँड बनाइ यसले बच्चा कोरल्छ ।
यसले एकपटकमा एउटा मात्र अन्डा पार्छ । बीसीएनले यस वर्ष डंगरसँगै अन्य प्रजातिका गिद्धको पनि अनुगमन गरेको थियो । त्यसक्रममा सानो खैरो गिद्धको ९ गुँडमध्ये ८, हिमाली गिद्धका २२ मध्ये १६, हाडफोर र सुन गिद्धका ३/३ गुँडमध्ये मा २/२ वटाको प्रजनन् सफल भएको छ ।
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र यहाँ बच्चा कोरल्छन् । डंगरजस्तै सुन र सानो खैरो गिद्धले पनि रूखमा गुँड लगाउँछन्। हिमाली, हाडफोर र सेतो गिद्धले पहरा र खोँचमा गुँड लगाउँछन्. गिद्धको प्रजनन् सफलता दर करिब ६० प्रतिशत छ ।
प्रायः एक्लो बस्ने पोथी गिद्धले कात्तिक मंसिरतिर प्रजनन्का लागि जोडी खोज्छ। जोडी मिलेर गुँड बनाउँछन् र बच्चा हुर्काउँछन्। पुसतिर अन्डा पारेर गिद्ध ओथारो बस्छ। ५० देखि ६० दिनपछि बच्चा कोरलिन्छ। तीन महिनाको भएपछि माउले उड्न सिकाउँछ।