.png&w=1000&height=550)
रूकुम पश्चिम । सडकको छेउकुनामा बनाइएका नालाहरूको व्यवस्थापन राम्रो नहुँदा मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्व-पश्चिम खन्ड कमजोर र जोखिमपूर्ण बन्दै गएको छ।
कतै नालाहरू वर्षौादेखि पुरिएका छन् त कतै नालामा माटो भरिएको छ तर मर्मतसम्भार भएकै छैन। सडक, महत्वपूर्ण विकास पूर्वाधार भएकाले पछिल्लो केही दशकयता यसको विकास तथा विस्तारमा तीनै तहका सरकारले प्राथमिकताका साथ लगानी गरिरहेका छन् । तर, बनेका सडकको नियमित मर्मत-सम्भार हुन भने सकेको छैन ।
सडक छेउमा पानी तर्काउन बनाइएका नालाहरू दुरुस्त नराख्दा सडकको सुरक्षा चुनौती थपिएको छ । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कुल ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्व-पश्चिम खण्डको जम्मा १ सय २१ किलोमिटर सडकको अधिकांश ठाउामा नालाको राम्रो व्यवस्थापन गरिएको छैन।
राजमार्ग निर्माणका क्रममा बनेका नालाको नियमित मर्मतसम्भारमा सरोकारवालाको लापरबाही देखिन्छ। जसका कारण नालामा बग्नुपर्ने पानी सडकमा बग्दा खासगरी बर्खा याममा आवतजावतमा कठिनाइ त भएको छ नै नालाको पानीसँगै माटो र गेग्रान समेत बगेर आउने र त्यसैमाथि भारी सवारीसाधन गुड्ने भएकाले कालोपत्रे उप्किने गरेको छ।
राजमार्गभन्दा माथि जथाभावी शाखा सडक निर्माण गर्ने र त्यसबाट ढुंगा-माटो झर्ने अनि बर्खामा त पहिरो नै खस्ने गरेका कारण सडक-नाला दुरुस्त राख्न नसकिएको राजमार्ग आयोजना कार्यालयको तर्क छ । यस्ता शाखा सडक निर्माण गर्नुअघि सम्बन्धित डिभिजन अथवा आयोजना कार्यालयसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था 'सडक ऐन २०३१' मा गरिएको छ तर त्यसको पालनामा लापरबाही देखिन्छ ।
बर्खा लाग्नुअघि नै सडकका नालाहरू मर्मतसम्भार भइसक्नुपर्ने हो। यसका लागि सम्बन्धित आयोजना कार्यालय र सडक डिभिजनहरूले ध्यान दिनैपर्छ। कतिपय सडकमा त अघिल्लो बर्खामै खसेको पहिरो र माटो पनि हटाइएको छैन। यो समस्या मध्यपहाडी राजमार्गमा मात्रै नभएर यहााको राप्ती लोकमार्ग र अन्य स्थानिय सडकमा पनि छ ।