
सल्यान । सल्यानको बाफुखोला बर्खे आलु उत्पादनका लागि परिचित क्षेत्र हो।
हरेक वर्ष १२ करोड रुपैयाँको आलु फलाउने बाफुखोलाका किसान यसपटक भने उत्पादन नबिकेर चिन्तित छन्। उत्पादन राम्रो भए पनि बजार नपाउँदा घरमै थन्किएको आलु कुहिन थालेको छ।
सल्यानको बागचौर नगरपालिका-१२, बाफुखोलाका नन्दबहादुर ओली हरेक वर्ष एक बिघा रोपनीमा आलु खेती गर्नुहुन्छ । यस वर्ष उहाँले २ सय ५० भन्दा बढी बोरा आलु उत्पादन गर्नभएको छ । तर, उत्पादन राम्रो भए पनि उचित मूल्य पाउन सक्नुभएन ।
विगतका वर्षमा जस्तो व्यापारीहरु आलु खरिद गर्न गाउँमा आएनन् । उहाँले घरभरि आलु थन्क्याउनुभएको छ । अर्का किसान महेन्द्र ओलीको बारीमा पनि करिब तीनसय बोरा आलु फल्यो । तर, बजार नपाउँदा अधिकांश उत्पादन बिकेको छैन ।
बागचौर नगरपालिका-११ र १२ को बाफुखोला बर्खे आलु उत्पादनको पकेट क्षेत्र हो । यहाँ करिब १ हजार १ सय किसानले झन्डै ४ सय हेक्टरमा आलु खेती गर्दै आएका छन् । यसपटक एक त आलु बिकेन, बिक्री भएको आलुले पनि उचित मूल्य पाएन ।
बाफुखोलाका किसानहरुले आलुकै आम्दानीले घरखेत जोडेका छन् । पछिल्ला वर्षहरूमा महिलाहरु पनि व्यावसायिक आलु खेतीमार्फत आयआर्जनमा जोडिएका छन् । तर, यस वर्ष उत्पादन राम्रो हुँदा पनि उनीहरूको अनुहारमा खुसी ल्याउन सकेको छैन ।
गत वर्ष किसानले घरबाटै प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा आलु बिक्री गरेका थिए। तर, यस वर्ष २५ रुपैयाँभन्दा माथि बिक्री हुनसकेको छैन। भारतीय आलुका कारण स्थानीय उत्पादनले बजार गुमाएको हो। घरमा यत्तिकै थन्क्याइएको आलु अब कुहिन थालेको छ।
आलु बिक्रीका लागि व्यापारीसँग समन्वय भइरहेको स्थानीय सरकारले जनाएको छ । बाफुखोला क्षेत्रको ११ र १२ नम्बर वडाबाट मात्रै वार्षिक १२ करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन हुने गरेको छ। जिल्लाभरबाट करिब ३० करोड रुपैयाँभन्दा बढीको आलु दाङ, बुटवल, काठमाडौं, पोखरा, वीरगञ्ज लगायतका सहरसम्म जान्छ।
उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने सरकारी नीति भए पनि उत्पादनको बजार सुनिश्चित हुन नसक्दा किसानको मिहिनेतले उचित प्रतिफल पाउन सकेको छैन।