लागूऔषधको चक्रव्यूहमा फस्ने युवाको संख्या बढेको बढ्यै

असार २४, २०८३ |कृपाल गौतम
लागूऔषधको चक्रव्यूहमा फस्ने युवाको संख्या बढेको बढ्यै

काठमाडौं । लागूऔषधको अवैध बजार अहिले हाम्रो घर आंगनमै आइपुगेको छ। 

कानुनी प्रावधान र प्रहरीको देशव्यापी अपरेसनलाई समेत गिज्याउँदै फैलिएको यो सञ्जालको तथ्यांक हेर्दा निकै डरलाग्दो छ । कडा केमिकलदेखि मेडिकल पसलमा सहजै पाइने साधारण औषधिको ककटेलसम्मले हाम्रो युवा पुस्तालाई भित्रभित्रै खोक्रो बनाइरहेको छ ।

सन्तान हुर्कँदै जाँदा अभिभावकको खुसी त बढ्छ, तर के उनीहरूको भविष्य सुरक्षित बाटोतर्फ नै अघि बढिरहेको हुन्छ त ? कतै कौतुहलताको सानो भूलले उनीहरूलाई कुलतको अँध्यारो सुरुङतर्फ धकेलिरहेको त छैन ? अर्थात् कतै उनीहरू लागूऔषधको लतमा त लागेका छैनन् ? 

लागूऔषधको संसारमा कोही पनि जानेर छिर्दैन । तर, साथीभाइको लहलहै र क्षणिक रमाइलोका लागि थाहै नपाइ चालिने गलत पाइलाले सिङ्गो परिवार र भविष्यलाई सिध्याइदिन्छ, र यो क्रम तपाईँ हामीले सोचेभन्दा निकै डरलाग्दो छ ।

गृह मन्त्रालयले २०७६ सालमा लागूऔषध प्रयोगकर्ता सर्वेक्षण गरेको थियो र त्यो सर्वेक्षणमा अधिकांश लागूऔषध प्रयोगकर्ताले २० वर्षभन्दा कम उमेरमै, अर्थात् किशोरावस्थामै पहिलोपटक लागूऔषधको स्वाद लिइसकेको देखियो । सर्वेक्षणले विगतमा भन्दा लागूऔषध प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा बढेको पाइयो । 

त्यसअघि २०६३ सालमा भएको पहिलो सर्वेक्षणले नेपालमा लाग"औषध प्रयोगकर्ताको संख्या ४६ हजार तीन सय नौ जना भएको देखाएको थियो । वि.सं. २०६९ मा भएको दोस्रो सर्वेक्षणमा संख्या बढेर ९१ हजार पाँच सय ३४ पुगेको थियो भने २०७६ मा तेस्रो र पछिल्लो (यो चाहिँ कहिले हो? ) सर्वेक्षण हुँदा यो संख्या झनै बढेर एक लाख ३० हजार चार सय २४ मा उक्लिएको देखायो । 

यो संख्या अहिले २०८३ सम्म आइपुग्दा अझै बढेको हुन सक्ने अनुमान छ । नेपाली युवाहरू कुलतमा फस्नुको मुख्य कारण लागूपदार्थको सहज पहुँच र खुला सिमानामा हुने फितलो जाँच पनि हो । गाउँघरमै पाइने गाँजा वा चरेसबाट सुरु भएको नशा सिमानाको फितलो जाँचका कारण भित्रिने अफिम, हेरोइन र ब्राउन सुगर जस्ता कडा ड्रग्ससम्म पुग्छ । 

यो सँगै फर्मास्युटिकल ड्रग्सको दुरुपयोग पनि अर्को कारण हो । यसमा कडा प्रतिबन्धित औषधि मात्र नभइ बजारमा सहजै पाइने खोकीको सिरप, कडा पेनकिलर वा निद्रा लाग्ने अप्रतिबन्धित औषधिसमेत पर्छन्। कडा नशा पाउन युवाहरूले यस्ता साधारण औषधि मिसाएर प्रयोग गर्छन्। 

अझ युवाहरुले हार्डवेयर पसलहरुमा पाइने डेन्ड्राइट, ग्लू वा पेट्रोल सुँघेर पनि नशा लिन्छन् । यसरी खुला सिमानादेखि औषधि मिसाएर खाने प्रवृत्तिले युवाहरूलाई कुलतको चक्रव्यूहमा फसाएको छ। सरकारी तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी अर्थात् ८४ दशमलव सात प्रतिशत प्रयोगकर्ताले गाँजा वा चरेस सेवन गर्ने गरेका छन् । 

यसपछि दोस्रो नम्बरमा डाक्टरको प्रेस्क्रिप्सन बिना चलाइने नशालु तथा मानसिक रोगका औषधि पर्छन्, जसको दुरुपयोग गर्नेहरू ७३ दशमलव एक प्रतिशत भेटिएका छन् । त्यस्तै, अफिम, हेरोइन र ब्राउन सुगर जस्ता कडा लागुपदार्थ प्रयोग गर्नेहरू ४६ दशमलव आठ प्रतिशत छन् भने डेन्ड्राइट, ग्लू जस्ता सुँघ्ने पदार्थ प्रयोग गर्नेहरू तीन दशमलव नौ प्रतिशत रहेका छन् । 

यसबाहेक, शरीरमा उत्तेजना बढाउने कडा लागूपदार्थ प्रयोग गर्ने दुई दशमलव चार प्रतिशत, दिमागमा भ्रम पैदा गर्ने केमिकल प्रयोग गर्ने एक दशमलव एक प्रतिशत र अन्य विभिन्न नशालु पदार्थ मिसाएर खानेहरू ३१ प्रतिशत रहेको (फलानो अध्ययन/प्रतिवेदन/सर्वेक्षणले) देखाएको छ। 

धेरैजसोले एकैपटक धेरैथरीका लागूपदार्थ मिसाएर खाने भएकाले यो प्रतिशत फरक देखिएको हो । नेपालमा लागुपदार्थको अवैध कारोबार र ओसारपसार दैनिक चुनौतीपूर्ण बन्दै गएको छ । यसले सुरक्षा निकाय र कानुनी संयन्त्रमाथि नै ठूलो दबाब सिर्जना गरेको छ। 

खुला सिमाना र बदलिँदो प्रविधिको फाइदा उठाउँदै कारोबारीहरूले लागूपदार्थ भित्र्याउन नयाँ-नयाँ शैली अपनाइरहेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार देशभर लागूऔषध ओसारपसार, बिक्री-वितरण र कारोबारमा संलग्न भएको अभियोगमा गत आर्थिक वर्षमा ५ हजार ६१ मुद्दा दर्ता गरेकोमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र ५ हजार ६ वटा मुद्दा दर्ता भएका छन् । यसमा विदेशीसमेत सक्रिय छन् ।

कुलतको बाटोमा लाग्ने पहिलो पाइला रहर हुन सक्छ, तर अन्तिम पाइला जहिले पनि विनाश नै हुन्छ । प्रहरीको फाइलमा दिनहुँ थपिने मुद्दाका संख्या केवल तथ्यांक मात्र होइनन्, हाम्रा युवा कुन गतिमा नकारात्मक बाटोबाट भड्किरहेका छन् भन्ने प्रमाण हुन्।

सम्बन्धित समाचार :

खुला सीमाको असर : मधेशका युवा लागूऔषधको जालमा


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।