काठमाडौं । आइतबार राति दुई समूहबीचको झडपपछि सुरु भएको तनाव सुनसरी हुँदै मधेशका अन्य क्षेत्रमा फैलिएपछि उत्पन्न परिस्थिति तनाव नियन्त्रण गर्न राजनीतिक दलहरुले सक्रियता बढाएका छन्।
उनीहरुले जिल्लास्थित आफ्ना नेता कार्यकर्तालाई सद्भाव कायम गर्न निर्देशन दिएका छन् भने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले धार्मिक संघ संस्थाका अगुवाहरुलाई संवादमा ल्याएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न धार्मिक संघ संस्थाका अगुवाहरुसँग छलफल गर्नुभयो।
केही जिल्लामा फैलिएको तनाव नियन्त्रणका लागि सद्भाव र संयम आवश्यक रहेको भन्दै त्यसका लागि अगुवाई गरिदिन लामिछानेले आग्रह गरेपछि छलफलमा सहभागी अगुवाहरूले संयुक्त अपिल नै जारी गरे। विभिन्न स्वार्थ समूहले धर्मका नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेको भन्दै धार्मिक अगुवाहरूले नागरिकलाई उत्तेजनात्मक, घृणात्मक वा सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन आग्रह गरेका छन्।
सिंहदरबारमा सभापति लामिछानेसँगको भेटपछि विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा-ए-नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासङ्घका सचिवालय सदस्य राजुराम फुँयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीले संयुक्त अपिल जारी गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि स्थिति नियन्त्रणमा लिन र घटनाको निष्पक्ष जाँच गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ। सभापति गगन थापाले काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा कोशी र मधेश प्रदेशका नेताहरूसँग छलफल गर्दै सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।
काङ्ग्रेस मुलुकको अभिभावक शक्ति भएकाले जटिल परिस्थिति सम्हाल्ने मुख्य जिम्मेवारी पार्टीकै भएको उल्लेख गर्दै थापाले सत्यतथ्य जाँच गरेर मात्र धारणा बनाउन जोड दिनुभयो। नेकपा एमालेले पनि कोशी र मधेश प्रदेशका पार्टी पंक्तिलाई सामाजिक सद्भाव कायम राख्न, भीड तथा दंगामा सरिक नहुन र यस्ता गतिविधिलाई प्रश्रय नदिन निर्देशन दिएको छ।
पार्टीले सबैलाई एकताको सुत्रमा बाँध्न कार्यकर्ताहरूलाई परिचालन गरेको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जात र धर्मका नाममा भइरहेको तनावप्रति चिन्ता व्यक्त गर्दै तत्काल नियन्त्रणमा लिन सरकारको ध्यानाकर्षण गराएका छन्।
दुवै पार्टीले आ-आफ्ना कार्यकर्तालाई स्थिति सामान्य बनाउन र सद्भाव फैलाउन निर्देशन दिएका छन्। सुनसरी र आसपासका क्षेत्रमा तनाव जारी रहेका बेला सरकार, राजनीतिक दल, धार्मिक नेतृत्व र सरोकारवाला निकायहरू स्थिति नियन्त्रणमा लिई सामाजिक सद्भाव पुनः कायम गर्न सक्रिय देखिएका छन्।