काठमाडौं । सडकमा ट्राफिक प्रहरी नभएको मौका छोपेर कतै ट्राफिक नियम उल्लंघन त गरिरहनुभएको छैन ?
यदि त्यस्तो हो भने तपाईँ कारबाहीको दायरामा पर्ने निश्चित छ। किनकि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा राखिएका २९७ क्यामेराबाट तपाईँ चौबिसै घण्टा निगरानीमा हुनुहुन्छ । ट्राफिक प्रहरीको कन्ट्रोल रुमबाटै भइरहेको रियल टाइम निगरानीले तपाईँले नियम मिच्नासाथ चिट काटिहाल्छ ।
कस्तो छ त ट्राफिक प्रहरी अटोमेसन अवतार ?
ट्राफिक प्रहरी नभएको मौका छोपेर रातो बत्तीमा पनि गाडी हुइँक्याइहाल्ने, जाम देख्नासाथ फुटपाथमा बाइक चढाइहाल्ने अनि स्पिड लिमिटलाई वास्ता नगर्ने बानी त छैन नि तपाईँको ? छ भने सुधारिहाल्नुस् । किनकि, तपाईँले ट्राफिक प्रहरीलाई नदेखे पनि ट्राफिक प्रहरीले तपाईँलाई निरन्तर निगरानी गरिरहेको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र स्वचालित प्रणालीमा ढाल्न अहिले ट्राफिक कन्ट्रोल रुमबाटै ‘रियल टाइम’ निगरानी र कारबाहीलाई तीव्रता दिइएको हो । हाल काठमाडौँ उपत्यकाका ९५० सार्वजनिक स्थानका सीसीटीभी क्यामेरामध्ये २९७ वटाको लिंक ट्राफिक प्रहरीको कन्ट्रोल रुममा सीधै पुग्छन् ।
जसबाट ट्राफिक प्रहरीले चौबिसै घण्टा निगरानी गरिरहेका हुन्छन् । पछिल्लो समय मासिक ४ देखि ५ हजार सवारी साधनलाई सीसीटीभीकै सहायताले कारबाहीको दायरामा ल्याइएको छ । उपत्यकामा जडित २९७ मध्ये ६ वटा विशेष प्रविधियुक्त एएनपीआर अर्थात् सवारीसाधनको नम्बरप्लेट र गति पत्ता लगाउने सक्ने क्यामेरा हुन् । यसले तीव्र गतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणमा ठूलो मद्दत पुगेको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रविधिलाई अँगाल्न थालेयता सडकमा दिनभरि उभिने ट्राफिक प्रहरीको संख्या पनि घटाइएको छ । अब क्रमशः सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिबिना प्रविधिको माध्यमबाट ट्राफिक व्यवस्थापन अर्थात् फेसलेस ट्राफिक सिस्टम कार्यान्वयन गर्ने तयारी भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
ट्राफिक प्रहरीले आवश्यकता अनुसार चोकको चारैतिर ३६० डिग्री घुमाउन मिल्ने र जुम गर्न मिल्ने क्यामेरा पनि प्रयोग गरिरहेको छ । सडकको चाप हेरेर कन्ट्रोल रुमबाटै तत्कालै ट्राफिक व्यवस्थापन गर्न यो क्यामेराले मद्दत गर्ने विश्वास गरिएको छ ।
यसका साथै ट्राफिक प्रहरीले अब ट्राफिक प्रणालीलाई पूर्ण स्वचालित बनाउने योजना बनाएको छ । जसअन्तर्गत ट्राफिक प्रहरीको डेटाबेसमा कैद हुने फुटेज र यातायात व्यवस्था विभागको डेटाबेसलाई एकीकृत गरिनेछ । यो प्रविधि लागू भएपछि नियम उल्लंघन गर्ने सवारी धनीको मोबाइलमा सीधै जरिवाना र कारबाहीको मेसेज जानेछ ।
साथै कन्ट्रोल रुमलाई थप विस्तार गरी अत्याधुनिक ट्राफिक म्यानेजमेन्ट सेन्टर स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ । प्रविधि र सफ्टवेयरहरू एकीकृत गरी उपत्यकाको ट्राफिकलाई पूर्णरूपमा डिजिटल नियन्त्रणमा राख्ने योजना ट्राफिक प्रहरीको छ ।