
बुटवल । बुटवलस्थित एक पुनर्स्थापना केन्द्रमा रक्सीको लत छुटाउन राखिएकी युवतीमाथि अमानवीय यातना दिइएको घटना सार्वजनिक भएको छ।
घटनामा गम्भीर घाइते भएकी कपिलवस्तुको वाणगंगा नगरपालिका निवासी २८ वर्षीया युवती अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा भेन्टिलेटरको सहारामा उपचाररत छिन्। रक्सीको लत छुटाउन भन्दै बुटवलको खुड्किलो उत्थान घर पुनर्स्थापना केन्द्रमा बसेकी युवतीलाई पुनर्स्थापना केन्द्रभित्रै चरम यातना दिँदा जीवन मरणको दोसाँधमा पुगेकी छिन् ।
पटक पटकको हिंसासहित चरम यातना भोगेकी कपिलवस्तु वाणगंगाकी २८ वर्षीया युवती अहिले लुम्बिनी प्रादेशिक अस्पतालको भेन्टिलेटरमा छिन् । यातनाले बोल्नसमेत नसक्ने अवस्थामा पुगेकी ती युवतीको मलद्वारदेखि गुप्तांगसम्म गहिरो चोट छ ।
उनका आँखा, मुख, हात र खुट्टामा पनि ठूला ठूला घाउ भएका छन् । पुनर्स्थापना केन्द्रले जेठ १७ गते सख्त घाइते अवस्थामा बुटवलस्थित चौराहा अस्पताल लगेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि देवदह मेडिकल कलेज हुँदै असार ७ गते युवतीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।
घाउचोटको अवस्था हेर्दा युवतीमाथि यौन हिंसासंगै चरम यातना दिएको हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । उपचारमा यता र उता गराए पनि युवतीको अवस्था भने झनझन् गम्भीर बनेको छ । पुनर्स्थापना केन्द्रले युवतीलाई यसअघि पनि यातना दिने गरेको र यातनापछि लामो समय बुटवलकै तिनाउ इन्टरनेसनल अस्पतालमा उपचार गराए पनि परिवारलाई खबर थिएन ।
युवतीलाई जेठ १७ मा गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लैजादा पनि केन्द्रले घरपरिवारलाई खबर गरेको थिएन । चौराह अस्पतालपछि देवदह मेडिकल कलेज लगेपछि मात्रै अस्पतालका चिकित्सकहरुले बल्ल घरपरिवारलाई खबर गरीदिएका थिए । दिदीसँग पीडितले पुर्नस्थापना गृहमा बसेका ६ जनाले कुट्ने, यौनांगमा चुरोटले पोल्ने लगायत यातना दिने गरेको बताएको भिडियो रेकर्ड प्रहरीसंग पनि छ ।
घटना थाहा पाएपछि जेठ १८ मै अस्पतालले योगीकुटी प्रहरीलाई खबर गरेर घाउजाच गराएको थियो । यसपछि युवतीका आफन्तले खुड्कीलो उत्थान घरका सञ्चालक तथा सहयोगीलाई ज्यान मार्ने कसुरविरुद्ध जाहेरी दिएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलले जेठ २६ मा मात्रै पुनर्स्थापना केन्द्रका संचालक मूना पुन सहित पुर्नस्थापनामा बसेका चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
खुड्किलो उत्थान घर महिलामा हुने मद्यपान, धुमपान तथा लागूऔषध छुटाउन भन्दै पूर्व लागूऔषध प्रयोगकर्ताले खोलेका हुन् । तर, १२ जनासम्म महिला राख्ने गरिएको पुनर्स्थापना केन्द्रमा उनीहरुलाई उपचार तथा परामर्शका लागि अनिवार्य मनोचिकित्सक राख्नुपर्ने भए पनि त्यहाँ छैनन् ।
खुड्किलो उत्थान घर कम्पनी रजिष्टारको कार्यालयमा २०८१ असार २७ मा नाफा वितरण नगर्ने संस्थाका रुपमा दर्ता भएर सञ्चालन भएको छ । बुटवल उपमहानगरमा सामाजिक गतिविधि सञ्चालनको इजाजत लिएको खुड्किलो उत्थान घर समाज कल्याण परिषद्मा समेत दर्ता छ । तर, कुनै पनि निकायले कहिल्यै अनुगमन र नियमन गरेका छैनन् । अहिले बल्ल युवतीका आफन्तले मेडिकल काउन्सीलमा उजुरी गरेपछि संस्थाले पुर्नस्थापना केन्द्र सञ्चालनका कुनै मापदण्ड नअपनाएको कुरा बाहिरिएको छ ।
पीडित युवती सम्बन्ध विच्छेद भएकी तर, ६ वर्षीय बालककी आमा हुन् ।सम्बन्ध विच्छेदपछि रक्सीको लतमा परेकी युवतीलाई माइती परिवारले पुस ३ गते पुनर्स्थापना गृहमा राखेका थिए । त्यसपछि महिनाको एक पटक मात्र भेट्न दिन्थे । उनले पहिल्यैदेखि यातना दिने गरेको बताउने गरेको तर, बानी नसुध्रिएको भनेकाले घर नलगेको आफन्तको गुनासो छ ।
युवतीमाथि भएको याताना र हिंसाको प्रहरीसँगै मेडिकल काउन्सिलले पनि अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन जरुरी छ ।