
नुवाकाेट । आकाशबाट हेलिकोप्टरको आवाज मात्र के आउनुपर्छ भुइँमा भएका एक हुल मान्छे हस्याङफस्याङ गर्दै हेलिप्याडतिर हेरिहाल्छन् ।
उनीहरूमा आस पलाइहाल्छ कतै मेरा आफन्त उद्धार भएर आए कि ! भनेर ।
भोटेकोशीको बाढीले विनाश गरेको चौथो दिन पनि बाँच्नेहरूका संघर्ष जारी छ । अनि जारी छ आफन्त खोज्नेहरूका पीडा । तर, उनीहरूमध्ये धेरै निराश हुन बाध्य छन् ।
त्रिशूलीको यो सैन्य तालिम केन्द्रबाहिर उभिएर हेलिप्याडतिर एकोहोरो हेरिरहनुभएको छ बेनिसा बोगटी । ११ गतेदेखि उहाँ प्रत्येक दिन बिहान ६ बजे यहाँ आएर उभिने अनि रात झमक्क नपरून्जेल पर्खिइरहने गर्नुहुन्छ । उहाँका बुवा हरिबहादुर बोगटी त्रिशूली ३ ‘ए’ मा काम गर्नुहुन्थ्यो । तर, बाढीपछि सम्पर्कमै हुनुहुन्न ।
केवल आस र धैर्य बोकेर उहाँ आज त लैजान्छु बुवालाई घर भन्ने सोच्नुहुन्छ तर…
अहिले बाढीप्रभावित क्षेत्रमा उडिरहेका १५ वटा हेलिकोप्टरमध्ये जुनकुनैको आवाज सुनिनासाथ एक हुल मानिस हेलिप्याडनिर पुगिहाल्छन् - ‘कतै मेरा आफन्त आए कि !’ भनेर ।
नजाऊन् पनि किन, बाढीको चार दिन बितिसक्दा पनि मानिसहरु जीवितै भेटिइहेकै छन् । यस्तै आस बोकेर नुवाकोटको सैन्य तालिम केन्द्र त्रिशूलीमा भौँतारिइरहनुभएको छ- लामबाबु शेर्पा । उहाँलाई लाग्छ- भाइ जीवितै छन् । किनकि, भाइ काम गर्ने गट्टेखोला क्षेत्रबाट ज्यान जोगाएर भागेका मानिसहरू जंगलमा बसिरहेका छन् भन्ने गाइँगुइँ चलेको छ ।
लामबाबुसँग हामीले न ठेगाना सोध्न सक्यौँ न हराएका भाइको नाम । हतास लामबाबुसँग भेट्दा हामी नै हतास भयौं। यस्तो अपुष्ट आसले त्राण दिएको लामबाबुलाई मात्र होइन । ‘गाडी देखिएको छ तर मान्छे देखिएन’ भन्ने हल्ला गाउँमा चलेपछि रुद्रबहादुर मल्ल सम्पर्कविहीन आफन्तको खोजीमा दोलखाबाट नुवाकोट आइपुग्नुभएको छ ।
उहाँको आफन्त टिमुरेबाट सम्पर्कविहीन भएको सम्म थाहा छ । हामीले आफन्त खोज्नेहरूकै भीडमा गम्भीर सुवेदीलाई पनि भेट्यौँ । उहाँ आफन्त मात्र होइन, हराएका करिब ३५ गाउँलेको खोजीमा हुनुहुन्छ । गोसाइँकुण्ड हिँडेका गाउँलेहरूलाई ढुंगेबजार आसपासबाट बससहितै बगाएको रहेछ ।
आफन्त खोज्दै बझाङदेखि त्रिशूली आइपुग्नुभएको छ- अर्जुनराज जोशी । उहाँको आफन्त अपर त्रिशूली ३ ‘बी’ बाट हराइरहनुभएको रहेछ । अन्य जलविद्युत् आयोजनामा उद्धार भए पनि त्रिशूली ३ ‘बी’मा नभएको उहाँको गुनासो छ ।
जलविद्युत्का सुरुङमा आफ्ना मान्छे जीवितै भएको आसमा अरू पनि थुप्रै छन् । तिनैमध्येका एक हुनुहुन्छ- सिन्धुपाल्चोक मेलम्चीका शम्भु राउत । राउतका अनुसार उहाँका छोरा सिनो हाइड्रोको सुरुङ नम्बर २१६ मा हुनुहुन्छ । र, त्यहाँबाट बाँचेर आएकाहरूले सुनाएअनुसार उहाँका छोरासहित ४५-५० जना उद्धार कुरिरहेका छन् ।
उहाँहरू मात्र होइन, शनिबार दिनैभरि सयौँको संख्या वा केही हजार पनि हुनसक्छ, मानिसहरू आफन्त खोजिदिन भन्दै तालिम केन्द्रमा भौँतारिइरहेका छन् । हराएकाहरूको नाम टिपाइरहेका छन् । कोही भनिरहेका छन्- मेरा आफन्त बिरामी छन्, औषधि लगिदिन्छु ।
कोही भनिरहेका छन्- मेरा आफन्त अशक्त छन्, खाद्यान्न पुर्याइदिनुस् । कि सास कि त लास नै भए पनि हेर्न खोजिरहेका छन् केही आफन्तहरू त । अहिले यो तालिम केन्द्र शोक, आँसु र आसले टम्म भरिएको छ ।
त्रिशूलीबाट विकास आचार्य र हेम प्रसाईँको स्थलगत रिपोर्ट ।