रसुवा बाढीका मृतकको चीरशान्तिको कामना गर्दै भक्तपुरमा गाईजात्रा

भाद्र १३, २०८३ |सुन्दर शिल्पकार
रसुवा बाढीका मृतकको चीरशान्तिको कामना गर्दै भक्तपुरमा गाईजात्रा

भक्तपुर । बाढीले आफ्ना प्रियजन गुमाएका परिवारको पीडा शब्दमा व्यक्त गर्न कठिन छ । 

यही शोकका बीच शुक्रबार गाईजात्राका परम्परागत सांस्कृतिक भावद्वारा रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । गाईजात्रा आफ्ना दिवंगत आफन्तको सम्झना गर्दै उनीहरूको आत्माको चीरशान्तिको कामना गर्ने पर्व भए पनि यस वर्ष भक्तपुरका नेवार समुदायले यसलाई रसुवा बाढीमा ज्यान गुमाएका परिवारसम्म जोडेका छन् । 

भक्तपुरका गल्लीमा गाईजात्राका झाँकीहरू परिक्रमा गर्दा रसुवा बाढीका मृतकहरूप्रति श्रद्धा र उनीहरूका परिवारप्रति सम्वेदनाको भाव मिसियो ।

भक्तपुर तेखापुखीस्थित एउटा घरबाट निस्किएको गाईजात्राको झाँकीमा वाद्यवादकले गाउँदै गरेको यो गीतले भन्छ -

हार्दिक श्रद्धाञ्जली छ हाम्री स्वर्गीय काइँली आमालाई

प्रार्थना हामीले गरिरहनेछौँ मोक्ष प्राप्ति गर्नू स्वर्ग बासको

परिवारका दिवंगत सदस्यको सम्झनामा यसैगरी परिवार र आफन्त गाईजात्रा मनाउँछन्। मृतकको चीरशान्तिको कामना गर्दै नगरपरिक्रमा गरिन्छ। झट्ट हेर्दा रमाइलो देखिन्छ, तर सहभागी परिवारका सदस्य भने भावविह्वल हुन्छन्। गाईको प्रतीकको रूपमा ताहामचा बनाइ बाजाको तालमा घिन्ताङघिसी नाचसहित परिक्रमामा निस्किँदा शोकलाई शक्तिमा बदल्ने प्रेरणासमेत मिल्छ । 

यसकारण, मृत्युको पीडालाई सामूहिक स्मृतिमा साँचेर बाँचिरहने सांस्कृतिक परम्परा गाईजात्रालाई कतिपयले जीवनको उत्सवका रुपमा समेत कतिपयले व्याख्या गर्छन्। हाँसो, व्यंग्य र सांस्कृतिक प्रस्तुतिसहितको पर्व गाईजात्रामा भक्तपुरबासीले यसपालि भदौ १० गते आएको रसुवा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको मोक्ष प्राप्तिको कामनासमेत गरे । 

भक्तपुरका नेवार समुदायले गाईजात्रा पर्वलाई यसपटक केबल आफ्नो स्थानीय परम्पराका रुपमा मात्र नभइ विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै साझा नेपाली सम्वेदना प्रकट गरे। भक्तपुरबासी यो पर्वलाई साँपारु भन्दछन्। पर्वको आफ्नै सांस्कृतिक एवं ऐतिहासिक महत्त्व छ।

गाईजात्राको प्रमुख आकर्षण घिन्ताङघिसी नाच हो । ठूलो समूहमा एउटै ताल बजाउँदै त्यही तालमा नाचिने नाचले जोकसैलाई उद्वेलित बनाउँछ । यसबाहेक सामाजिक कुरिती र राजनीतिक व्यङ्ग्य गाईजात्राको अर्को विशेषता हो। ८ दिनसम्म प्रहसन, व्यंग्य र नाचसहित गाईजात्रा बनाउने गरिन्छ। 

जसको घरमा पर्व छैन, उसले यसरी गाईजात्रामा निस्कनेहरुलाई गच्छेअनुसारको फलफूल, रोटी र दक्षिणा दिने अर्को चलन पनि छ । नेवार बहुल भक्तपुर, काठमाडौं र ललितपुरबाहेक पाल्पा, संखुवासभा, धरान, धनकुटा, बन्दिपुर, दैलेखलगायतका जिल्लामा पनि गाईजात्रा मनाइएको छ। 

जसरी गाईजात्रा मनाउँदा मृतात्माहरुले चीरशान्ति पाउँछन् र दिवंगतहरुले वैतर्णी पार गर्छन् भन्ने विश्वास गरिन्छ, त्यसरी नै पर्वमा सरिकहरुले विपद्ले प्रभावित परिवारहरुमा सम्वेदना पनि साटेका छन्।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।