
काठमाडौं । बाढीको कहरले रसुवा र नुवाकोट त थिलथिलो नै भएको छ । तर, त्यहाँ आफन्त गुमाएकाहरूको आर्तनादले अहिले काठमाडौँ पनि शान्त छैन । स्तब्ध छ ।
बाढी प्रभावितहरू काठमाडौँका अस्पतालहरूमा आफन्तको खोजी गर्दै आइपुगेका छन् । उनीहरू भित्तामा फोटो टाँसिरहेका छन्, मोबाइलमा आफन्त चिनाइरहेका छन् । उनीहरूका सबै भाँचिएका छन्, सग्लो छ त केवल आस मात्र ।
हाम्रा सहकर्मी प्रकाश बम आज काठमाडौँका अस्पताल र सिंहदरबार पुग्दा के देख्नुभयो त ?
भित्तामा अब तस्बिर टाँस्ने ठाउँ बाँकी छैन । पहिचान नखुलेका बिरामीहरू शिक्षण अस्पताल ल्याइएपछि यहाँ आफन्त खोज्नेहरूको भीड छ । सास भए त के चाहियो र, लासै भए पनि लैजाने भनेर उनीहरू कुरिरहेका छन् ।
यिनै हतास आफन्तका छटपटी यी भित्ता अनि यी झ्यालहरूमा देखिन्छ ।
भित्तामा आफन्त हराएको सूचना टाँसिरहनुभएका उहाँ निमा लामा । निमाका १२ जना आफन्तको अवस्था अज्ञात छ । भाइ–बहिनी, काका अनि ससुरालीतर्फका गरी १२ जना टिमुरेबाट हराएका छन् । उहाँको अन्तिम सहारा यिनै तस्बिर हुन्, कसैले ‘मैले देखेको छु’ भनी पो हाल्छ कि !
१५ जना साथीहरूसँग तिब्बततर्फ गएका सोलुखुम्बु दूधकुण्डका सुरेश श्रेष्ठलाई पनि परिवारका सदस्यले खोजेको खोज्यै छन् । सुरेशका मामा दानबहादुर श्रेष्ठलाई हामीले शिक्षण अस्पतालमा भेटायौँ, फोटो बोकेर उनी कहिले यता कहिले उता भौँतारिइरहेका थिए ।
शिक्षण अस्पतालमै भेटिए काभ्रे रोशी गाउँपालिका–९ का शंखबुद्ध तामाङका परिवार । बेत्रावतीको बाढीमा शंखबुद्ध हराएका छन् । अहिले आफन्तसँग शंखबुद्धको चिनो भन्नु यही फोटो बाँकी छ ।
शिक्षण अस्पताल मात्र होइन, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा पनि आफन्त हराएको सूचनाहरू छन् । हामीले वीर अस्पतालमा सल्यान कपुरकोटका लिलबहादुर सार्कीलाई भेट्यौँ । उहाँ शुक्रबार दिउँसो ३ बजे मात्र नेपाल आइपुग्नुभएको हो । ५५ वर्षका बुबा हेमलालसहित १२ जना बुधबारको बाढीमा हराएको खबर पाएपछि उहाँ हस्याङफस्याङ गर्दै साउदीबाट नेपाल आउनुभएको हो ।
सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयको छेउमा रसाएका आँखा र मलीन अनुहार भएका यी १५ जना पनि बाढी प्रभावित नै हुन् । उनीहरूका आफन्त त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका छन् ।
विद्युत् प्राधिकरण, प्रमुख जिल्ला अधिकारीको कार्यालय र प्रहरी कार्यालयसम्म पुगेर उद्धारको आग्रह गर्दा गर्दा अन्ततः उनीहरू विपद् प्राधिकरणसम्मै आइपुगेका हुन् । अहिले त बाढीले घर, सम्पत्ति र आफन्तलाई मात्रै बगाएको छ, तर हातमा तस्बिर बोकेर अस्पताल चहारिरहेका र सिंहदरबारसम्म पुगेर उद्धारको याचना गरिरहेकाहरूलाई राज्यले सुन्न ढिलो गर्यो भने उनीहरूको आस पनि बगाउन सक्छ ।