बर्दिया । बर्दियाका विभिन्न वन क्षेत्र अतिक्रमण गरी बस्दै आएकाहरूले आफैंले घरटहरा भत्काएर हट्न थालेका छन्।
वैशाख १४ गते डिभिजन वन कार्यालय, बर्दियाले अतिक्रमण हटाउन सूचना जारी गरेको थियो । १५ दिने म्याद सकिएलगत्तै त्यहाँका बासिन्दा आफैंले वन क्षेत्र खाली गर्न लागेका हुन् । माओवादी सशस्त्र द्वन्द्वकालमा गाउँमा बस्नै नसक्ने भएपछि पञ्चु बमको परिवारले थातथलो छाड्यो ।
कतै टेक्ने ठाउँ नपाएको पञ्चुको परिवारले बर्दियाको मधुवन नगरपालिका-४, बेलवाको सामुदायिक वन क्षेत्रमा छाप्रो बनायो । पञ्चु बमजस्तै विभिन्न कारणले आफ्नो ठाउँ छाडेकाहरू भेला हुँदै जाँदा बस्ती बाक्लो बनेर बेलवा चोक नै बन्यो।
पञ्चु भन्नुहून्छ ‘अब पहाडमा केही छैन । वन कार्यालयको सूचनापछि सामुदायिक वनको जग्गा खाली गरिदिँदैछौँ तर अब कहाँ जाने ठेगान छैन ।’ किसान सामुदायिक वन र रामनगर सामुदायिक वन क्षेत्रमा बीस वर्षअघिदेखि बस्दै आएका ४२ परिवार भत्काउँदै अन्यत्र स्थानान्तरण हुन थालेका हुन् ।
यो क्षेत्र खाली गराउन वन कर्मचारी, प्रहरी, प्रशासन र डोजर केही आवश्यक परेन । यहाँ बसोबास गरिरहेकाहरूले स्वत: स्फुर्त रूपमा अतिक्रमण क्षेत्र खाली गर्दैछन् । डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गरिदिन दिएको १५ दिने म्याद सकिएलगत्तै उनीहरू आफैं हट्ने निर्णयमा पुगेका हुन्।
कोठियाघाटको सामुदायिक वनमा करिब ४० वर्षदेखि बस्दैआएका २७ घरपरिवारमध्ये केही आफैं घर भत्काएर ओराली बजारमा सरेका छन् । दुई घरका व्यवसायी आफ्नै नम्बरी जग्गामा भएको घरमा सरेका हुन् । ४० वर्षदेखिको बसोबास छाड्नुपर्दा यहाँका नागरिक चिन्तित देखिँदा वन कार्यालयले भने अतिक्रमण हटाइ छाडने अडान लिएको छ ।
बर्दियामा ४४ हजारभन्दा धेरै भूमिहीन सुकुम्वासी, भूमिहीन दलित, अव्यवस्थित बासोबासीले विघटित आयोगमा निवेदन दर्ता गराएका छन्।